सुदूरमा धुमधामका साथ मनाइँदै गौरा

सुदूरपश्चिममा गौरा पर्व धुमधामका साथ मनाइँदैछ । यो पर्वलाई यहाँ धार्मिक-सांस्कृतिक चाडको रुपमा मनाइन्छ ।

ब्रतालु महिलाहरुले उमा महेश्वरसहित दुबोको पूजा गर्दैछन् । सन्तान दुबो जसरी फैलिओस् भन्ने कामनासहित उमा महेश्वरको पूजा, उपासना र ब्रत बस्ने चलन छ।

पार्वतीले कठोर तपस्याद्वारा शिवलार्इ पतिका रूपमा प्राप्त गरेको पौराणिक भनाई छ । गौरी अर्थात पार्वतीके पूजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहनगएको विश्वास गरिन्छ।

यस पर्वमा शिव–पार्वतीसम्बन्धी विभिन्न कथाहरू भनिने र गीतहरू लयबद्ध रूपमा गाइने भएकाले यसलार्इ गीति पर्वका रूपमा पनि लिइन्छ।

हिजो सप्तमीका दिन साँझदेखि व्रत बसेका विवाहित महिलाहरू आज गौरा पूजन गर्ने स्थलमा गर्इ पुरूषले लगाउने जनैजस्तै धागो गौरालार्इ चढाउँछन र नयाँ धागो धारण गर्ने गर्दछन । यस्तो धागोलार्इ दुबधागी भनिन्छ।

भाद्र शुक्ल पञ्चमीका दिन मास, गहत, गहुँ, केराउ र गुराउँस गरी पाँच प्रकारका बीउ–बिजन मिश्रित पञ्चबिरूडा अर्थात क्वाँटी शुद्ध र सफा केठामा भिजाएर राखिन्छ । बाघजस्तो बलियो, स्यालजस्तो चतुर, दुबोजस्तै फैलिनु र कागजस्तै सावधान हुनु भन्ने कामना गरिन्छ ।

अशिर्वादसहित क्वाँटी सबैलार्इ समानरूपमा बाँडेपछि गौरा पर्व सम्पन्न हुन्छ। यस पर्वमा सामाको बेटलार्इ सिंगारेर मानव पुतलीका रूपमा नचाइने चलन पनि छ।

अन्य पर्वहरूजस्तो यो पर्व आफ्ना इष्ट–मित्र र नाता–कुटुम्बमा मात्र सिमित नरही सम्पूर्ण जनसमुदायको व्यापक समभागितामा मनाइने भएकाले सामूहिक एकताको भावना यस पर्वको मुख्य विशेषता हो।

काठमाडौंको टुडिखेललगायतका स्थानमा समेत सुदूरपश्चिमेलीहरु भेला भएर देउडा खेल्ने गर्दछन।

,

प्रतिकृया दिनुहोस्

Loading...