उर्जा मन्त्रीको अस्पतालमा पूर्व लडाकुको तालाबन्दी
माओवादी केन्द्रका नेता एवं वर्तमान सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको स्वामित्व रहेको भनिएको जनमैत्री अस्पतालमा पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले तालाबन्दी गरेको छ ।
जनपाटी डटकममा प्रकाशित समाचार अनुसार राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पतालमा शर्माले जनमुक्ति सेनाको तत्कालीन डेपुटी कमाण्डर हुँदा क्यान्टोनमेन्टबाट करोडौं हिनामिना गरेर लगानी गरेको भन्दै पूर्व जनमुक्ति सेनाका लडाकुहरुले विगतदेखि आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।
यसपटक पनि पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले अस्पतालको गेटमा ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द भएको बताइएको छ ।
‘गाँस काटेको पैसामा कसैको रजाइँ नहोस्, हाम्रो आँसु, पसिना र रगतमा पहुँचवालाहरुको रजाइँ नहोस्’ भनेर व्यानरको अगाडि लेखिएको छ ।
अनि ठूलो अक्षरमा लेखिएको छ– ‘हामी सदन र सरकारमा छैनौं । अलिशान दरबारमा पनि छैनौं । हामी सडकमा छौं ।’ व्यानरको अन्त्यमा लेखिएको छ– ‘खबरदार ! पूर्व पिएलएको पसिनामा रातारात खरिद बिक्री नहोस् ।’
बन्द भएको अस्पताल र गेटमा पूर्व जनमुक्ति सेना नेपाल जनमैत्री सरोकार संघर्ष समितिको नाममा झुन्डाइएको ब्यानरका बारेमा अस्पतालका कर्मचारी एवं शर्माका आफन्त पर्ने विवश शर्मालाई बुझ्न खोज्दा उनले अस्पताल लिलाममा रहेको बताए ।
गत फागुन महिनादेखि बन्द रहेको अस्पतालमा पूर्व जनमुक्ति सेना नेपालको तर्फबाट कसले र किन व्यानर झुन्डाएर राख्यो भन्नेबारे पनि विवश अनविज्ञ रहेको बताए ।
प्रतिकृया दिनुहोस्
Loading...

