
- काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फरकफरक मतपत्र हुनुपर्ने मागसहित सर्वोच्चमा दायर रिटप्रति सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेको छ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका लागि दुई मत पत्र छापेको छ । चुनाव सार्ने तयारी भइरहेको भन्दै सरकार नछोड्ने निर्णय गरेको माओवादी केन्द्रले चुनावको मितिमा असर नपर्ने गरी सर्वोच्चलाई फैसला गराउन सफल भएको छ । यता चुनाव सराउन कसरतमा लागेको नेपाली काँग्रेस भने अब तनावमा परेको छ ।
राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बहस मंगलबार सकिएको थियो । न्यायधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मत पत्र छाप्न आदेश सर्वोच्चले दिएकाे खण्डमा चुनाव सार्नै पर्ने हुन्थ्यो ।
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ । सर्वोच्चले मतपत्र अलगअलग छान्नुपर्ने आशय व्यक्त गरेको छ । मतपत्र छपाई भइरहेको हुँदा त्यसबारे बोलिरहनु नपर्ने सर्वोच्चको ठहर छ ।
फैसलामा भनिएको छ, “पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य मतपत्र’ मिति २०७४।७।१० देखि प्रारम्भ गर्ने भन्ने निर्वाचन आयोगको कार्यतालिकाबाट देखिन आई छपाइ कार्य बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग ऐन रहेको अवस्थामा दुबै सभाको सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकोमा प्रतिनिधिसभा र प्रदेश सभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयोगले सो विषयलाई गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा अन्तरिम आदेश जारी गरिरहनुपरेन ।”
२०७४ कार्तिक १ मा प्रकाशित ।



- काठमाडौं ।
चिम्पान्जी, बाँदर, सुगा लगायतका बन्यजन्तुको तस्करी भइरहेको सिआइबीले जनाएको छ। पछिल्लो पटक काठमाडौं हुदैँ भारत लैजान लागेको अवस्थामा सिआइबीले २ वटा चिम्पान्जी, ८ वटा बाँदर, गोल्डेन फेजन चरा ७ वटा, रिङनेट फेजन चरा २ वटा, परेवा ३८ र सुगा ६५ वटाको जिवितै उद्धार गरेको छ।
यी सबै वन्यजन्तु नाइजेरियाबाट नेपाल ल्याइएको थियो । बन्यजन्तु तस्करी गरेको आरोपमा प्रहरीले २ जना नेपाली, ३ जना भारतीय र एक जना पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीले सबै वन्यजन्तु काठमाडौं ३ बाँसबारीस्थित संजिव भारीको घरबाट उद्धार गरेको हो। उद्धार गरिएको बन्यजन्तुलाई जावलाखेल चिडियाखानामा राखिएको छ।
२०७४ कार्तिक १ मा प्रकाशित ।

- काठमाडौं ।
राप्रपा अध्यक्ष कमल थापालाई गृहमन्त्री बनाउने आश्वासन दिएर सरकारमा सामेल गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को हंगामा खडा गरेका छन् ।
माओवादी केन्द्रका मन्त्रीलाई विनाविभागीय बनाएर विवादमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नैसँगको सम्बन्ध चिस्याउँदै लगेका छन् । थापाको आँखामा पट्टी बाँधिदिएर देउवाले गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय आफैसँग राखेका छन् ।
मंगलबार प्रचण्डसँगको भेटमा देउवाले माअोवादी मन्त्रीलाई विनाविभागीय बनाइदिने चेतावनी दिएपछि प्रचण्डले पनि सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने चेतावनी दिएका थिए । तर, अन्तिम समयमा आएर मोआवादीले देउवाले निर्वाचन सार्न चलखेल गरेकाले निर्वाचन सफल हुन्जेल आफू सरकारमा रहने गृहमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माले बताएका थिए ।
माओवादी मन्त्रीलाई हटाएर खाली भएको गृहमन्त्रालयमा कमल थापाको आँखा परेको थियो । तर, उनलाई देउवाले पत्याएनन् । अन्ततः देउवाले कृष्णबहादुर महराले सम्हालेको परराष्ट्रमन्त्रालय र शर्माले चलाएको गृहको जिम्मा कसैलाई नदिएर आफ्नै पोल्टामा राखेका छन् ।
देउवाको उक्त कदम देखेर थापा पनि रुष्ट बनेको स्रोतको दाबी छ । थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
खाली रहेको गृहमन्त्रालयको जिम्मेवारी कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई दिने तयारी भएको स्रोतको दाबी छ ।
२०७४ कार्तिक १ मा प्रकाशित ।
- काठमाडौँ ।
जगदम्बा सिमेन्टले आफ्ना च्यानल पार्टनरहरुलाई सम्मान गरेको छ । जगदम्बा सिमेन्टले असोज २८ गते विरगञ्जमा करीव २०० भन्दा बढी च्यानल पार्टनरको सहभागितामा सम्मान समारोह सम्पन्न गरेको छ ।
जगदम्बाले उपभोक्ताको सेवातथा सुविधाका लागी अनवरतरुपमा लागी आफ्ना डिलर पार्टनरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको बताइएको छ ।
जगदम्बाका प्रमुख शंकरलाल अग्रवाल, प्रवन्ध निर्देशक बिष्णु प्रसाद न्यौपाने र कार्यकारी निर्देशक राजेश अग्रवालले च्यानल पार्टनरहरुलाई विभिन्न पुरस्कारद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रवन्ध निर्देशक बिष्णु प्रसाद न्यौपानेले शुभ श्री जगदम्बा सिमेन्टले हाल आफ्नो उत्पादन क्षमतालाई दोब्बर बनाउने बताए । जसले गर्दा २४ हजार बोरा प्रतिदिन उत्पादनबाट निकट भविश्यमै ५२ हजार बोरा प्रतिदिन उत्पादन हुनेछ ।
जगदम्बा सिमेन्टले विश्वको उच्च स्तरीय प्रविधि FLSmidth, Denmark भित्रयाउने दोस्रो कम्पनीका रुपमा आफूलाई स्थापित गरिसकेको जानकारी दिँदै न्यौपानेले विरगञ्ज उद्योगबाट उत्पादन हुने ओपीसी तथा पिएससी सिमेन्ट अबका दिनहरुमा अझ बढी गुणस्तर तथा उपभोक्तामैत्री हुने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रो घर मोबाइल एप मार्फत आफ्ना पार्टनर च्यानल र उपभोक्तालाई सहज र सर्वसुलभ सेवा प्रदान गर्नेमा कम्पनी कटिबद्ध रहदै भावी दिनहरुमा आफ्ना संजाल उद्योग, प्रविधी, तथा सुविधालाई अझ बढी सशक्त र प्रभावकारी बनाउदै नेपालकै अर्थतन्त्रमा ठूलो योगदान दिने धारणा राख्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको ऋखला जारी राख्ने जनाए ।
त्यस्तै अग्रवालले रुपन्देहीमा उद्धयोग स्थापना गरेर दैनिक उत्पादन क्षमता १ लाख १२ हजार बोरा पुर्याउने काम थालिएको जानकरी दिदै गुणस्तरीय उत्पादन, उचित मूल्य, सुनिश्चित उपलब्धता, नविन प्रविधि, नेस्ट जेनेरेशन सिमेन्ट प्याकेजिङ्ग तथा उपभोक्ता प्रति उत्तरदायी बन्दै आएकोले छोटो समयमा जगदम्बा नेपालको सर्वाधिक लोकप्रिय सिमेन्ट बन्न सफल भएको बताएका छन् ।
नेपालको ७५ जिल्लाका उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन तथा सेवाद्धारा लाभान्वित गर्दै आएको जगदम्बाले नेपालमापाइने सबै प्रकारको पिपिसी, पीएससी रओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ ।

- काठमाडौं ।
नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष समेत रहेका मानबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार स्वयम्भुबाट पक्राउ गरेको हो । तामाङ आगामी मंसिरमा हुने प्रनिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका युवा हुन् ।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करी प्रकरणमा तामाङको पनि संलग्नता देखिन आएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । यो प्रकरणमा प्रहरीले हाल सम्म नौ जनालाई पक्राउ गरि सकेको छ । जसमा तीन जना चालक मात्रै छन ।
प्रहरी स्रोतका अनुसार ८८ किलो सुनलाई नेपालतर्फ सबै व्यवस्थापन गरी सुरक्षित साथ राजधानी पुर्याउने टिमको नेतृत्व तामाङले गरेको अनुसन्धानमा खुलेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
यसअघि सोही सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडु, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी ओटुका उल्लास दिनकर सालुखे र पशुपति सिनचाँदी खार्नी पसल ओटुका नन्दकुमार मगरलाई पक्राउ गरिसकेको छ ।
२०७४ असोज ३० मा प्रकाशित ।

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् -विजय) मुहूतको साइत दिएको जानकारी दिए ।
उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ ।
३१ गते -कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुदशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोर्वर्द्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए ।
कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।

- काठमाडौं ।
म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा आज बिहान भूम्पकको धक्का महसुस गरिएको छ ।
सोमबार विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका– ७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस गरिएको बताइएको छ ।
२०७४ असोज ३० मा प्रकाशित ।

- काठमाडौं ।
सोमालियाको मोगादिसुमा भएका शृङ्खलाबद्ध विस्फोटमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ । मोगादिसुस्थित एक होटलको प्रवेशद्वारमा पहिलो बिस्फोट भएको थियो भने दोस्रो बिस्फोट मोगादिसुकै भीडभाड इलाकामा भएको हो ।
बिस्फोटमा सय भन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बिस्फोटक पदार्थले भरिएको ट्रक भीडभाडमा चलाइँदा बिस्फोट भएको अधिकारीहरुले बताएका छन् ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । बिस्फोटका कारण होटेल पूर्ण रुपमा ध्वस्त भएको छ भने बिस्फोटले बजारका पसलहरुमा पनि ठूलो क्षति पुगेको छ ।(एजेन्सी)

- काठमाडौं ।
ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ ।
द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् ।
कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् ।
वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् ।
ओस्कारको पछि रहेको बोर्डको आपतकालीन बैठक बसेर वाइनस्टिनलाई निकाला गर्ने प्रस्ताव पारित गरेको हो।
वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ जनाभन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् ।
अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।
६५ वर्षका वाइनस्टिनले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । वाइनस्टिनलाई बेलायतको बाफ्टाले यसअघि नै निलम्बित गरिसकेको छ । (एजेन्सी)

- काठमाडौँ ।
शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो । संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन ।
माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरुलाई बिनाबिभागीयमा सोरेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो । आजको कान्तिपुरमा यो खबर छ ।

- काठमाडौँ ।
आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ ।
करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो । आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो । आजको नागरिकमा यो खबर छ ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुई महिनाका लागि एक जना म्यादी प्रहरी भर्ना गर्दा त्यसको खर्च कम्तीमा पनि ५० हजार रुपैयाँ लाग्छ ।

- काठमाडौँ ।
सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक विक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री साहले लखेको मधेसी मुक्तिका आधारहरु नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई मधेसका जिल्लाहरुमा विक्रि गर्दै हिंडेका छन् ।
शनिबार विहान बा. २ झ २२६३ नम्बरको सरकारी गाडी लाहनस्थित सीता नोबेल पुस्तक पसल अगाडी भेटिएको हो । उक्त गाडीमा शशिभुषण साह सवार थिए । उनले अफु मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरे । अन्नपुर्ण पोष्टमा खबर छ ।

- काठमाडौंँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम (ससफो) नेपालले पार्टी फेरबदल गरेका नेतालाई प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने सहमति गरेका छन् ।
चुनावी तालमेलका लागि गठन गरेको कार्यदलले स्थानीय तहको चुनाव सम्पन्नपछि राजपा नेपालबाट ससफो नेपाल र ससफोबाट राजपा नेपालमा गएका नेताहरूलाई प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने सहमति भएको कार्यदलका सदस्य एवं राजपा नेपालका महासचिव मनिष सुमनले जानकारी गराए ।
साथै अब आउने दिनमा पनि एक दलले अर्को दलका नेतालाई आ–आफ्नो पार्टीमा प्रवेश नगराउने पनि सहमति दुवै दलले गरेका छन् । एउटा दलबाट टिकट नपाएपछि अर्को दलमा गएर टिकट लिने परम्परा बढ्दै गएकाले यो समझदारी बनाइएको महासचिव सुमनले बताए ।
यी दुई दलबीच चुनावी तालमेल गर्ने सहमति असोज २० गते भएको थियो । त्यही तालमेललाई पूर्णता दिन अध्ययनका लागि तीन–तीन जना गरी छ जनाको कार्यदल बनाइएको छ । कार्यदलले चार दिनदेखि लगातार छलफल गर्दैछ । कुन दलको जनाधार कस्तो छ, त्यसबारे कार्यदलमा छलफल भइरहेको अर्का सदस्य एवं फोरम नेपालका उपाध्यक्ष रामसहाय यादवले बताए।
चुनावी तालमेलका लागि स्थानीय तहको चुनाव तथा दोस्रो संविधानसभा चुनावलाई आधार मान्ने पनि सहमति भएको बताइएको छ । तेस्रो चरणमा स्थानीय तहको चुनावमा मात्र भाग लिएको राजपा नेपालले मापदण्ड बनाउनका लागि संविधानसभा चुनावलाई पनि आधार मान्न प्रस्ताव गरेको छ । राजपा नेपालले प्रदेश–२ मा मात्र भाग लिएको छ तर फोरम नेपालले त्यसअघि भएका स्थानीय तहको दुवै चरणमा भाग लिएको थियो ।
ससफो नेपालले सातवटै प्रदेशमा भएको स्थानीय तहको चुनावबाट ३२ सिट जितेको छ भने राजपा नेपालले प्रदेश–२ बाट मात्र २५ सिट ल्याएको छ । राजपा नेपाल छवटा दल मिलेर बनेका कारण २५ सिट भएको छ भने फोरम नेपालले पनि अशोक राईको पार्टी सङ्घीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि १५ सांसद पुगेको थियो । गोरखापत्रमा खबर छ ।

- बाजुरा ।
दाजुभाईको परिवारबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन्।
बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो ।
स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यीबीच खुकुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए । अन्नपुर्ण पोष्टमा खबर छ ।

- काठमाडौँ ।
आउँदो मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची बुझाउनु पर्नेछ । बन्द सूचीमा राजनीतिक दलहरू ५० प्रतिशत महिला समावेश गर्नुपर्ने प्रावधान छ ।
निर्वाचन आयोगले बन्दसूची बुझाउनका लागि सबै तयारी पूरा भएको जनाएको छ । संविधानसभाबाट जारी नेपालको संविधानअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक यस्तो उम्मेदवारी दर्ता हुन लागेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरूको बन्दसूची बुझाउने कार्यतालिका रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । आयोगको केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौँमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउनु पर्नेछ । आयोगमा ९१ राजनीतिक दल दर्ता भएकामा ८८ दलले आयोगबाट निर्वाचन चिह्न प्राप्त गरेका छन् ।
बन्द सूची बुझाउनका लागि आयोगले सात प्रदेश र प्रतिनिधिसभाका लागि अलगअलग स्थानको व्यवस्था गरेको छ । आयोग परिसरमा रहेको चौरमा पाल टाँगेर व्यवस्थापन गरिएको जानकारी आयोगले दिएको छ । साथै दलहरूले रकम बुझाउने काउन्टरदेखि मतदाता नामावलीमा उम्मेदवारको नाम छ कि छैन भनेर जान्नका लागि निस्सासमेत प्रदान गर्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए ।
बन्दसूची बुझाउँदा महिला उम्मेदवारको सङ्ख्या ५० प्रतिशित पु¥याउनु पर्नेछ । नेपालको संविधानले सङ्घीय व्यवस्थापिकामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
कुनै राजनीतिक दलले प्रत्यक्षतर्फबाट एक तिहाइ महिला सदस्य सुनिश्चित गर्न नसकेमा त्यस्तो राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकाबाटै क्षतिपूर्ति गरी कुल एक तिहाइ महिला सुनिश्चित गर्नुपर्ने व्यवस्था भएको प्रवक्ता ढकालले स्पष्ट गरे ।
नेपालको संविधानले संसद्मा महिलाका प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै जनसङ्ख्याअनुरूप विभिन्न समुदाय र जातजातिको समेत समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता प्रदान गरेको छ ।
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत महिला, दलित, आदिवासी जनजाति, खस आर्य (क्षेत्री, ब्राह्मण, ठकुरी र सन्न्यासी÷दशनामी), मधेसी, थारू, मुस्लिमको समावेशी प्रतिनिधित्वका लागि तिनीहरूको जनसङ्ख्याका आधारमा राजनीतिक दलले उम्मेदवारी तथा निर्वाचित हुने सदस्यको नामावली बुझाउँदा तोकिए बमोजिमको प्रतिशत मिलाएर दिनुपर्नेछ ।
प्रवक्ता ढकालले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले नामावली बुझाउँदा भूगोल र प्रादेशिक सन्तुलन कायम हुने गरी तथा पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने बताए ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले यस प्रणालीबाट निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने र कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिला रहेको हुनुपर्छ । नेपाल सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै दिन दुई चरणमा सम्पन्न गर्ने गरी मिति तय गरेको छ ।
- काठमाडाैं ।
नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन्। अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ।
आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौदेखि प्रयोग गर्दै आएका छन्। उनीहरूलाई यस बारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ।
संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन्। एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएको पाइएको छ । पूरानो भएकाले भारतीय झण्डा भने स्पष्ट चिनिदैंन। उनले लामो समयदेखि सोही टोपी प्रयोग गर्दै आइरहेको बताए ।
केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तौ संकेत भेटिएको थियो। उनको टोपीको एकातर्फ ‘मेरा भारत महान’ लेखिएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा उल्लेख भएको ‘स्टिकर’ भेटिएको थियो । यस्तो ‘स्टिकर’ भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए। नागरिक दैनिकमा खबर छ ।

- काठमाडौं ।
व्यवस्थापिका–संसद्को शुक्रबार बसेको अन्तिम बैठकले दुईवटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक र भाषा आयोग विधेयक पारित गरेको हो ।
रोकिए दुई महत्वपूर्ण विधेयक
दलीय विवादका कारण चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा विधेयक भने पारित हुन सकेन । आवश्यक परे अब चिकित्सा शिक्षा विधेयक अब बन्ने संसद्ले ल्याउनेछ । तर, संविधान कार्यान्वयनसँग जोडिएको राष्ट्रिय सभा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन भएर परिणाम आएको मितिले एक महिनाभित्र राष्ट्रिय सभा गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने कांग्रेसको अडान र बहुमतीय प्रणालीबाट गर्नुपर्ने एमाले र माओवादी केन्द्रको अडानले राष्ट्रिय सभा विधेयक रोकिएको हो ।
आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
व्यवस्थापिका–संसद् शनिबार मध्यरातबाट स्वतः विघटन हुँदै छ । निर्वाचन आयोगले आइतबार समानुपातिक उम्मेदवार मनोनयन गर्ने दिन तोकेकाले संसद्को कार्यकाल शनिबारदेखि सकिन लागेको हो । संविधानमा प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसद्को आयु रहने उल्लेख छ । संसद् नहुँदा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन पाउने छैनन् ।
संसद्को अन्तिम बैठकमा देखिएका दृश्य
चार वर्षअघि संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित सांसदमध्ये शुक्रबार संसद्को अन्तिम बैठक चल्दै गर्दा आठ सांसदको नाम संसद्को सूचीमा थिएन । संसद्को कार्यकाल सकिँदै गर्दा कुल सदस्य संख्या ५९१ मात्र हुन पुग्यो ।
नेपालको अन्तरिम संविधानअनुसार संविधानसभामा २४० प्रत्यक्ष, ३३५ समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत २६ गरी ६०१ सभासद् रहने व्यवस्था छ । सोहीअनुसार ०६४ को संविधानसभाको पहिलो निर्वाचन र ०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो ।
०६४ को संविधानसभा निर्वाचनपछि संविधानसभाले ६०१ नै सभासद् पायो । ०७० पछिको संविधानसभा र संविधान जारी भइसकेपछि रूपान्तरित संसद्मा हुनुपर्ने सदस्य संख्यामध्ये दुईजना निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुन सकेनन् । मधेसी दलबाट मनोनयनका लागि नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद्ले २४ जना सदस्यलाई मात्र मनोनीत गरेपछि संसद्को कुल सदस्य संख्या ६०१ नभई ५९९ मात्र कायम भएको थियो ।
१. सुशील कोइरालाको निधन
कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको २६ माघ ०७२ मा ७७ वर्षको उमेरमा निधन भयो । निमोनियाले ग्रस्त पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको निधनले कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सदस्य संख्या घट्न पुग्यो । कोइराला ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा चितवन ४ र बाँके २ बाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए ।
२. सूर्यबहादुर थापाको निधन
राप्रपाका तत्कालीन अध्यक्ष एवं सांसद सूर्यबहादुर थापाको २ वैशाख ०७२ मा निधन भयो । तत्कालीन संविधानसभाको ज्येष्ठ सदस्यसमेत रहेका ८८ वर्षीय थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राप्रपाबाट तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने सांसदमध्ये उनी एक थिए ।
३. बाबुराम भट्टराईको राजीनामा
संविधान जारी भएसँगै तत्कालीन एमाओवादीका सांसद डा. बाबुराम भट्टराईले सांसद पदबाट राजीनामा दिए । ३ असोज ०७२ मा संविधान जारी भयो भने त्यसको ६ दिनपछि भट्टराईले एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । सांसदबाट समेत उनको राजीनामापछि संसद्मा कायम कुल सांसदको संख्याबाट अर्को एक संख्या घट्न गएको हो ।
४. योगेन्द्र तामाङ घिसिङको राजीनामा
माओवादी केन्द्रका ललितपुर जिल्लाबाट समानुपातिक सांसद योगेन्द्र तामाङ घिसिङले गत १५ भदौमा राजीनामा दिए । संसद्मा पार्टीको तर्फबाट भएका पटक–पटकका ह्विप उल्लंघन गरेको तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै माओवादी केन्द्रले उनीमाथि कारबाहीको तयारी गरेको थियो । संविधान संशोधन प्रस्तावमा पार्टीले ह्विप जारी गर्दासमेत घिसिङ अनुपस्थित थिए ।
५. माओवादी केन्द्रका भक्तिप्रसाद पाण्डेको निधन
माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको गत २९ कात्तिकमा निधन भयो । माओवादी केन्द्रबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदको संख्या ८४ भए पनि बाबुराम भट्टराईको राजीनामा तथा पाण्डेको निधनपछि अहिले सभामुखसहित गन्दा ८२ जनाको प्रतिनिधित्व छ ।
६. एमाले सांसद विद्यादेवी भण्डारी राष्ट्रपति
एमालेकी तत्कालीन उपाध्यक्ष एवं समानुपातिक सांसद विद्यादेवी भण्डारी ११ कात्तिक ०७२ मा राष्ट्रपतिमा निर्वाचित भइन् । संविधानसभाबाट संविधान जारी भएपछि रूपान्तरित संसद्ले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको हो । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने सदस्यको संख्या घट्न गएको हो ।
७. एमाले सांसद दुलारी देवीको निधन
गत ७ चैतमा भारतको सीतामढीमा एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल दुर्घटना भयो । घाइते देवीको काठमाडौंको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा ९ चैतमा निधन भयो । सर्लाहीबाट समानुपातिकतर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद देवीको निधनले संसद्को सदस्य संख्या घट्न गयो ।
८. एमाले सांसद महिन लिम्बूको निधन
एमाले केन्द्रीय सदस्य एवं सांसद महिन लिम्बूको गत असारमा निधन भयो । धनकुटाबाट एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी लिम्बूको धरानस्थित बिपी कोइराला अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६० वर्षीया लिम्बू लामो समयदेखि अर्बुद रोगबाट पीडित थिइन् ।
जेलमा रहेका सांसद पनि संसद्को गन्तीमा
सद्भावना पार्टीका सांसद सञ्जयकुमार साह हत्या तथा बम विस्फोटसम्बन्धी अभियोगमा अहिले पनि जेलमै छन् । तैपनि उनी संसद् सदस्यकै रूपमा रहे । थुनामा रहेकाले संसद्मा उनको ‘भोटिङ राइट’ सदुपयोग भएको छैन । तर, संसदको कुल सदस्यसंख्यामा उनको पनि गन्ती भने हुने गरेको छ ।
सांसद साह फौजदारी मुद्दामा जेलमा रहे पनि उनी निर्दोष भएर थुनामुक्त भए संसद् सदस्य रहने भएकाले कुल सदस्यसंख्याको सूचीमा उनको समेत नाम रहेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताए ।
यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन्
सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन् । ‘कोही विदेश भ्रमण, कोही बिरामी, कोही जिल्ला भ्रमण जाँदा लामो समयसम्म उतै बस्ने गरेको पाइयो,’ उनले भनिन् ।
आफूलाई जानकारी नदिई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित हुने सांसद नरहेको सभामुख घर्तीले बताइन् । संसद् बैठकमा लगातार उपस्थित नभए पनि यी सांसदले नियमित पारिश्रमिक भने लिएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनका अनुसार यी सांसदहरूले बैठक भत्ता भने पाएनन् । नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले खबर लेखेका छन् ।
सांसद लगातार अनुपस्थित बैठक संख्या
कांग्रेस
१. प्रदिप गिरी ११
२. नरहरि आचार्य ११
३. सुधीरकुमार सिवाकोटी १९
४. सुजाता परियार १०
५. कविताकुमारी सरदार १२
६. पद्मनारायण चौधरी ११
७. अमीयकुमार यादव १२
एमाले
१. विष्णु पौडेल ११
२. गौरीकुमारी ओली १२
३. तुलबहादुर गुरुङ १३
४. हरिबहादुर राजवंशी ११
५. कमलादेवी महतो ११
६. धनबहादुर घले ११
माओवादी केन्द्र
१. रवीन्द्रप्रताप शाह ११
राप्रपा
१. भक्तबहादुर खपांगी १०
२. रामकुमार सुब्बा ३१
३. जयन्त चन्द १९
अन्य दल
१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल) ११
२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम) २७
३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट) १२
४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११
५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९
६. दुर्गा पौडेल(राष्ट्रिय जनमोर्चा) २८

काठमाडाैं ।
उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको कार्यकक्षमा शुक्रबार दिउँसो पुगेका विद्यार्थी संगठनका नेताहरले विभिन्न नाराबाजी गर्दै बहिष्कारको धम्कीसमेत दिए ।
१२ बजे शिक्षा मन्त्रालय पुगेका नेविसंघबाहेकका विद्यार्थी संगठनलाई शिक्षा मन्त्रीले भेट्ने समय नदिए पछि उनीहरुले मन्त्रीको सचिवालयमै नारावाजी गरेका थिए ।
सचिवालयमा नारावाजी गरेपछि कर्मचारी र विद्यार्थी नेताबीच हात हालाहाल भएको थियो । प्रहरीले सचिवालयबाट निकालेपछि विद्यार्थीले मन्त्रालयको मूल गेटमा कोणसभा गरेका थिए ।
मन्त्री भेट्न गएका विद्यार्थीले कालोमोसो दल्न सक्ने सूचना पाएपछि सचिवालयका कर्मचारीले मन्त्रीलाई भेट नदिएको एक कर्मचारीले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

- काठमाडौं ।
संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो । संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।
०७२ असोज ३ मा संविधान जारी गरेपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठकले भाषा आयोग, प्रदेश प्रमुखको पारि श्रमिक तथा संविधानसम्बन्धी विधेयक पारित गरेको थियो । चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा निर्वाचन विधेयकमा दलबीच सहमति जुट्न नसकेपछि दुईवटै विधेयक अलपत्र पर्ने भएका छन् ।
संसद्को आयु समाप्त भए पनि अध्यादेशमार्फत यी विधेयक ल्याउने बाटो सरकार खुला छ ।संसद्को कार्यकाल समाप्त हुन लागेपछि दलका नेताले सांसदहरूको सम्मानमा कार्यक्रम गर्नुपर्ने प्रस्ताव सभामुख ओनसरी घर्तीमगरसमक्ष गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बिहान बसेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्न शनिबार बैठक बस्ने तर कुनै पनि कार्यसूची नराख्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोज गर्ने सहमति भएको थियो।
संविधानको व्यवस्थाअनुसार माघ ७ सम्म संसद्को कार्यकाल रहे पनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसद्को कार्यकाल समाप्त भएको हो । संविधानले मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन आइतबार तोकेको छ ।
सांसदले के पाउँदै छन्
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् ।
उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।
संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ । अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।

- काठमाडौँ ।
विद्यार्थीहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कार्यकक्षमै थुनेका छन् । शुक्रबार दिउँसा पौने १२ देखि पौने १ बजेसम्म सिंहदरवारस्थित कार्यकक्षमै विद्यार्थी संगठनका नेताहरुले ढोका बन्द गरेर थुनेका हुन् ।
शिक्षा ऐन नवौं संशोधन विधेयक २०७४ कार्यान्वयन नगर्नुपर्ने, शैक्षिक सत्र सकिएपछि सीटीइभिटीबाट दिएको सम्बन्धन खारेज गर्नुपर्ने, मिडिकल शिक्षामा सरकारले तोकेको शुल्क कार्यान्वयन ल्याउनु पर्ने लगायतका विषयमा विद्यार्थी संगठनहरुले राखेर मागहरुमा मन्त्री श्रेष्ठ सकारात्मक नभएपछि कार्यकक्षमै थुनेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले इमान्दार मिडियालाई जानकारी दिए ।
विद्यार्थी संगठनहरुले राखेका मागहरुलाई कार्यान्वयन गराउने दवाव दिन मन्त्री श्रेष्ठलाई एक घण्टा थुन्नु परेको चलाउने बताए ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु (पाँचौं), अखिल क्रान्तिकरीलगायत नौ विद्यार्थी संगठनका नेताहरुले मन्त्रीलाई कार्यकक्षमै एक घण्टा थुनेका हुन् ।
संगठनहरुले संसदवाट पारित भएको शिक्षाको नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।
२०७४ असोज २७ मा प्रकाशित ।