युरोपा लिगमा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं, ३१ भदौ ।

युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई नेदरल्याण्ड्सको फेयनुर्डले १–० ले हरायो । नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोली फेयनुर्डलाई विजयी गराउन टोनी भिल्हेनाले ७९ औं मिनेटमा निर्णायक गोल गरे ।

म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरीन्होले गत शनिबार सम्पन्न इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग पराजित टोलीको सुरुवाती एघार खेलाडीमा ८ जना परिवर्तन गरी नयाँ टोलीलाई फेयर्नुड विरुद्ध मैदानमा उतारे पनि परिणाम आफ्नो पक्षमा ल्याउन सकेनन् ।

उता अर्को इङ्लिस क्लब साउथह्याम्पटनले भने चेक गणतन्त्रको स्पार्टा प्रागलाई ३–० ले हराउँदै युरोपा लिगमा विजयी सुरुवात गरेको छ । साउथह्याम्पटनका लागि चार्ली अष्टिनले दुई तथा राड्रिग्वेजले एक गोल गरे ।

युरोपा लिग फुटबलका अन्य खेलमा अष्ट्रियाको र्‍यापिड भिएना, रुसको जेनीथ, ग्रिसको ओलम्पियाकोस, बेल्जियमको एन्डरलेच्ट, जर्मनीको साल्का र स्पेनको भियारियाल विजयी भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...