कञ्चनपुरमा ६६ मतदानस्थललाई किन भनियो अतिसंवेदनशील ? गम्भीर छ कारण



कञ्चनपुर । 

कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो । 

सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए । उनका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ । 

“भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ” – उनले भने । 

आपराधिक गतविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् । 

मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । जस्मा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ । 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा मदिरा बिक्री वितरण, सेवन र ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । 

निर्वाचनमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो । असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने जिल्लास्थित सर्वदलीय बैठकले निर्णय गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए। 

,

प्रतिकृया दिनुहोस्

Loading...