नवीकरणीय ऊर्जा विकासमा युवा सहभागितामा जोड

धादिङ, १७ असोज ।

स्थानीयस्तरमा उपलब्ध नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गरी ऊर्जामा आत्मनिर्भर बन्न तथा विभिन्न परिप्रयोगबाट युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा नेपाल ऊर्जा फाउन्डेसनले नलाङ गाविसमा आयोजना गरेको नवीकरणीय ऊर्जामा युवा सहभागितासम्बन्धी अभिमुखीकरण गोष्ठीका सहभागी वक्ताहरुले मुलुकको आर्थिक विकासका लागि ऊर्जाको पहुँच विस्तार, ऊर्जा सुरक्षा र व्यावसायिक परिप्रयोगमा जोड दिएका थिए ।

गोष्ठीमा फाउन्डेसनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले नवीकरणीय ऊर्जाको व्यावसायिक सम्भावनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै युवा जनशक्तिको बढ्दो विदेश पलायतलाई स्वदेशमै परिचालन गर्न नवीकरणीय ऊर्जाको परिप्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

पत्रकार कृष्ण अधिकारीले देशमा उपलब्ध नवीकरणीय ऊर्जाका प्रविधिहरुको विकास र विस्तारमा सरकारले प्रदान गरेको अनुदान नीतिका बारेमा प्रकाश पार्दै यसले विपन्न तथा दुर्गम भेगमा बस्ने समुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

गोष्ठीमा फाउन्डेसनका नीरज दाहालले नवीकरणीय ऊर्जा प्रविधिका बारेमा प्रकाश पार्नुभएको थियो भने कला तिमिल्सिनाले ऊर्जा र लैङ्गिक पक्षबीचको अन्तरसम्बन्धका बारेमा कार्यपत्र पस्तुत गरेका थिए।

मैदी ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा भएको सो गोष्ठीमा पूर्व जिविस सदस्य कृष्ण अर्याल, नेपाली काँग्रेसका राजेन्द्र सिलवाल, नेकपा (एमाले)का फणीन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र) का शालिग्राम अर्यालले गाउँको विकासमा नवीकरण ऊर्जाको प्रवद्र्धन आवश्यकतामा जोड दिए ।



गोष्ठीमा स्थानीय सङ्घसंस्था, राजनीतिक दल, शिक्षक विद्यार्थी गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...