मजदुर र कर्मचारीबीच सहमतिपछि तल्लो मोदीखोला सुरुङ निर्माण कार्य सञ्चालन

पर्वत, १७ असोज । 

कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि सोमबारदेखि निर्माण कार्य सञ्चालन भएको हो । सुरुङ निर्माण कार्यमा संलग्न मजदुर र कर्मचारीले तलब सुविधा बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए ।

साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले मजदुर र कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने सहमति गरेको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्यको ठेक्का लिएको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनीमा कार्यरत २०० भन्दा बढी मजदुर र कर्मचारी कार्यरत छन् । उनीहरुले २५ प्रतिशत तलब वृद्धिको माग गर्दै आएका थिए ।

अहिलेसम्म तल्लो मोदीखोला जलविद्युत् आयोजनाको चार हजार २१ मिटर सुरुङमध्ये तीन हजार ५८३ मिटर सुरुङको निर्माण कार्य सकिएको छ । अब बाँकी रहेको ४३८ मिटर सुरुङ आगामी जेठ महिनाभित्र सक्ने लक्ष्यसहित काम भइरहेको साउथ एसियन इन्फ्रास्टक्चर प्रालिका परियोजना प्रबन्धक ध्रुव मिश्रले जानकारी दिए । “तलब वृद्धिको मागलाई सम्बोधन गरेर निर्माण कार्य सञ्चालन गरेका छौँ” उहाँले भन्नुभयो–“दसैँ, तिहार, छठजस्ता चाडपर्वपछि निर्माण कार्यले गति लिन्छ ।”

पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवा र दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०७४ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले काममा ढिलाइ भएकाले निर्माण कार्य एक वर्ष ढिलाइ भइरहेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...