प्रधानमन्त्री प्रचण्डले भने - 'सबै समुदायलाई न्याय हुने गरी संविधान संशोधन हुन्छ'

काठमाडौँ, १७ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताएका छन ।

संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भने – “सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै छ । तर थारु, मधेसी र मगर समुदायको क्षेत्र मिलेको छैन, अलगअलग पर्न गयो । यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी छ ।”

संविधान घोषणा गर्दा केही विषयहरु छुटेको सबै पक्षलाई अनुभव भएको भन्दै उनले आधारभूत रुपमा मिलाइने बताए ।

भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए ।

भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधि, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी, जनजातिका प्रथाजन्य कानुनलाई वैधानिकता दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले संविधानमा केही सकारात्मक विषयहरु रहेको भए पनि पूर्ण नभएको भन्दै संशोधनमार्फत भएपनि पछाडि पारिएका क्षेत्रको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगरले सङ्घीय संरचनामा नेपालका आदिवासी जनजाति समुदायको माग र भावनालाई सम्बोधन गर्नुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रमुख राजनीतिक दल सम्बद्ध आदिवासी जनजातिका नेताहरु बालुवाटार पुगेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...