घतलाग्दो स्टाटस लेख्दै धुर्मुसले भने - '७७ दिनदेखि मुसहरबस्तीसंगै खाना खाँदा न हाम्रो जात गयो, न त इज्जत नै'

  • दिया चन्द ।
मुसहर बस्ती बनाउन महोत्तरीको बर्दिबास पुगेका हाँस्य कलाकार एवं सामाजसेवी धुर्मुस (सिताराम कट्टेल) ले नेपाली समाजमा देखिदै आएको जातीय विभेदलाई उठाउदै एउटा घतलाग्दो स्टाटस लेखेका छन् । 

'हामीले जातभात, पहिचान, अात्मसम्मान र छुवाछुतकाे कुरा गर्छाैं । ' उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, - ' मुसहर त्यस्तो जाति हो , २१ औं शताब्दीको युगमा पनि हाम्रो समाजले उनीहरुले छोएको पानी खाँदैन । हामी पनि त्यही समाजका मान्छे हौं । ७७ दिन देखि निरन्तर उनीहरुसंगै खाना खाइरहेका छौं । न हामी सानो नै भयौं । न हाम्रो जातै गयो । न त हाम्रो इज्जत नै गुम्यो ।'

उनले सामाजिक सञ्जालमा लेखेकाे याे कुराले नेपाली समाजमा देखिदै अाएकाे जातीय छुवाछुतकाे अन्त्य हुनुपर्ने सन्देश दिन खाेजेकाे छ ।

यतिबेला हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ मुसहर बस्तीमा उज्यालो छर्न कम्मर कसेर लागेका छन् ।  यसअघि काभ्रेको पहरी बस्तीमा २० घर र सिन्धुपाल्चोकको गिरानचौरमा ६६ घर निर्माण गरी हस्तान्तरण गरेको फाउन्डेसनले त्यस बस्तीमा ५० घर एक सामुदायिक भवन, एक मन्दिर र एक बाल उद्यानको निर्माण गर्न लागेको हो ।

एक वर्षअघि सरकारको सरसफाइ दूतका रूपमा बर्दिबास पुगेका कट्टेल दम्पत्तिले त्यहाँको मुसहरको दूरावस्था देखेपछि बस्तीको मुहार फेर्ने अठोट लिएका थिए । त्यो अठोट आगामी वैशाख १ भित्रै पूरा गरी बस्ती हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको सीताराम बताउँछन् ।

 बर्दिवास स्थित मुसहरबस्तीमा निर्माणाधिन एकीकृत नमुना वस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
मुसहरवस्तीमा १३ हप्ताअघि निर्माण कार्य शुरु भएको र रकेटको गतिमा काम अघि बढाउँदा बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको फाउण्डेसनले जनाएको छ । 

झन्डै ७२ दिनको अवधिमा बस्ती निर्माणको ८० प्रतिशत काम सम्पन्न भइ सकेको फाउण्डेसनले जनाएको छ । सय दिनमा बस्ती निर्माणको काम सम्पन्न गरी मुसहर समुदायलाई हतान्तरण गर्ने लक्ष्य अनुसार दिनरात एक गरी निर्माण कार्य अगाडि बढाउँदै जाँदा अब भने बस्तीको २० प्रतिशत काम मात्र बाँकी रहेको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनसँग अझै २४ दिन काम पुरा गर्न बाँकी छ । निर्माणको गति हेर्दा बस्ती तोकिएकै समयमा निर्माण कार्य पुरा हुने विश्वास फाउण्डेसनले व्यक्त गरेको छ । 

एकिकृत नमुना मुसहर बस्तीमा निर्माण भइरहेको पक्की घरको तयारी अन्तिम चरणमा पुग्दा ५० घरपरिवार मुसहर अब पक्की घरमा बस्न पाइने आसले दङ्ग देखिएका छन् । आफूहरूको बासको लागि बनिरहेका घरहरूमा रङगरोगन सुरु भएसँगै निलो रंगको जस्ताको छानामा सूर्यको प्रकाश पर्दा चमचम चम्केको हेर्दा मुसहरहरु खुशीले दङ्ग छन् ।



२०७३ चैत्र १४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...