विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
पर्वत, १९ असार ।
बिहीबारदेखि परेको लगातारको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ ।
पर्वत, स्याङ्जा र गुल्मीका सिमानामा रहेको पर्वतका शालिग्राम गाविसमा रहेको विश्वकै ठूलो शालिग्राम शिला कालीगण्डकीमा पानीको सतह बढेर सामान्य अवस्थामा भन्दा माथि आइपुगेपछि डुबानमा परेको हो ।
शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित समेत विस्थापित छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबाएको स्थानीय प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त न्यौपानेले जानकारी दिए ।
शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।
यता पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका छन् । कतिबेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले जानकारी दिए ।
मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको हो ।
सेतीवेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको पिँढीखोलामा पर्ने बजार क्षेत्रमा झन्डै डेढ सय व्यापारी तथा सर्वसाधारण त्रसित छन् ।
छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित थिए । बिहीबारदेखिको वर्षा र बाढीले स्याङ्जातर्फका भागमा कटान सुरु गरिएकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्ने देखिएको छ ।
विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय शिक्षक पाण्डेले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...