दुर्घटनाग्रस्त अवस्थामा भेटियो फिस्टेलको हेलिकोप्टर, क्याप्टेन लिम्बुसहित ७ जनाको मृत्यु

काठामाडौं, २४ साउन । गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज नुवाकोटको मदनपुर– ९ बेतिनीस्थित टुच्चे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बु र एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।


गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको हो ।

दुर्घटनामा क्याप्टेन रन्जन लिम्बुसहित कितमान लिम्बु, अज्ञानी गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, प्रति गुरुङ र उनका पाँच दिनको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुवोकाटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले भने, ‘सात जनाको मृत्यु भएको छ । लाशहरु टुक्रा-टुक्रा छन् ।’
हेलिकोप्टर गोर्खाको फिलिमबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको थियो । सो हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।

दिउँसो करिव १ बजे स्थानीयले जंगलमा आगलागी भएको सूचना दिएपछि घटनाबारे आफूले जानकारी पाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । त्यसलगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो ।

घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याउँदै गरेको नुवाकोटका एसपी देवबहादुर बोहोराले अनलाइनखबरलाई जानकारी दिए ।

घटनास्थल राजधानी काठमाडौं र नुवाकोट सदरमुकाम विदुरको मध्य भागमा पर्दछ । पैंतिस किलोबाट कुमरी गाविस जाने सडक पटि्टको जंगलमा हेलिकोप्टर जलेको देखेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...