नेपाल एयरलाइन्सले भोलिदेखि सीधा दुबई उडान भर्दै

काठमाडौं, १ भदौ । 

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भोलि बिहीबारदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान सुरु गर्नका लागि सबै तयारी पूरा गरेको बताएको छ ।

नेपालीको प्रमुख रोजगार गन्तव्य दुबईमा निगमले साताको तीन उडान गर्नेछ । निगमले झण्डै चार वर्षपछि फेरि दुबई उडान सुरु गर्न लागेको हो ।

एक सय ५८ सिट क्षमताको ए-३२० एयरबसमार्फत दुबईमा उडान भर्ने तयारी भएको निगमका प्रवक्ता रामहरी शर्माले बताए। काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

दुबईमा अहिले दैनिक सिधा उडान गर्न बायुसेवा निगमको क्षमता भ्याउँदैन । तर, दैनिक उडान गर्न माग भने भइरहेको निगमले जनाएको छ ।

निगमले पाँच वर्षअघि दुबईमा हप्तामा चार उडान भर्ने गरेको थियो । नयाँ जहाज ल्याउन नसकिँरहदा भएका जहाज पनि ग्राउन्डेड हुने क्रम बढेपछि निगमले दुबइको उडान स्थगित गरेर बसेको थियो । निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले दुबई उडानबाट वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । निगमले एक वर्षमा यो उडानमार्फत ४० हजार बढी यात्रुलाई सेवा दिनेछ ।

विसं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यवसायिक उडानसन् २०१२ अगस्टदेखि बन्द भएको थियो ।
निगमकाअनुसार काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेटको हुन्छ । हवाइ यात्रा गर्दा दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्छ । दुबई उडान प्रारम्भ भएपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्य आठवटा हुनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...