चितवनमा फेरि डेङ्गु , २१ जनामा सङ्क्रमण

चितवन, ११ असोज ।

चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो ।

वैशाखदेखि साउनसम्म यहाँ डेङ्गु देखिएको थिएन । अघिल्लो वर्ष भदौ महिनामा जम्मा पाँच जनामा मात्रै सङ्क्रमण भएको थियो ।

भदौको पहिलो सातादेखि असोजको अहिलेसम्म करिब एक महिनाको अवधिमा २१ जनामा सङ्क्रमण भएको पाइएको र त्यसमा ११ जना महिला रहेका छन् ।

पुष्टि भएकामा दुई जना मात्रै बाहिरी जिल्लाका रहेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले सङ्क्रमितमध्ये १२ जना रत्ननगरका बिरामी फेला परेको बताए ।

“यसपालि रत्ननगर नगरपालिका क्षेत्रमा धेरै पाइएको छ, त्यसैले सचेतना कार्यक्रम सुरु गरेका छौँ, केसीले भने, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाको टोलीले समेत डेङ्गुको अवस्थाको अध्ययन गरेको छ ।”

सङ्क्रमित भएकामध्ये नारायणी सामुदायिक अस्पतालका १६, भरतपुर अस्पतालका दुई र चितवन मेडिकल कलेजमा तीनजना बिरामी छन् । विगतका वर्षमा भरतपुर उपमहानगरमा धेरै सङ्क्रमित हुने गरेकोमा यसपटक रत्ननगरमा बढेको पाइएको छ ।

डेङ्गु रोगको सङ्क्रमण बढ्ने आशङ्कामा अहिले निःशुल्क परीक्षणका लागि सरकारले भरतपुर अस्पताललाई ५० वटा डेङ्गु कीट उपलब्ध गराएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा कीट उपलब्ध गराइएको हो ।

विसं २०६७ मा चितवनमा महामारीको रुपमा फैलिँदा डेङ्गु रोगका कारण पाँच जनाको मृत्यु भएको थियो भने ७३९ जना बिरामी भएका थिए । अघिल्लो वर्ष ८५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ ।

अहिले सङ्क्रमण फैलिएपछि चितवनमा सचेतना कार्यक्रम सुरु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले आग्रह गरेका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...