यात्रुलाई ठग्नेहरुको दशैं हिरासतभित्र हुन्छ : एसएसपी विक्रमसिंह थापा

काठमाडौं, १७ असोज  । 

तपाई दशैं विदामा घर जाँदैहुनुहुन्छ ? 
तपाईलाई टिकट काउन्टरमा कसैले हप्कायो, बढी भाडा लियो वा ‘यता-यता’ भन्दै जबरजस्ती आफूतिर तान्यो कि ? यस्तो भएको छ भने प्रहरीलाई १०० नम्बरमा फोन गर्नुहोस् ।

यात्रुहरुमाथि ठगी र दुव्र्यवहार रोक्ने उद्देश्यले काठमाडौं प्रहरी परिसरले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

एसएसपी विक्रमसिंह थापाका अनुसार टिकटमा कालोबजारी गर्ने र जर्बजस्ती पैसा असुल गर्नेहरुमाथि ती सादा पोशाकका प्रहरीले निगरानी बढाएका छन् । ‘घर जान खोज्ने यात्रुलाई ठग्ने जोकोही ठगहरु उम्किन पाउँदैनन्, एसएसपी थापाले भने, ‘तिनीहरुको दसैं प्रहरी हिरासतमै बित्छ ।’

कसैले कालोबजारीका कारण टिकट पाएका छैनन् वा मनपर्दी भाडा असुल गरेका छन् भने प्रहरीको १०० नम्बर खबर गर्न पनि एसएसपी थापाले आग्रह गरेका छन् । 

थापाले भने- ‘कोही ठगिएका छन् भने हामीले विभिन्न स्थानमा सहायता कक्ष पनि राखेका छौं, त्यसबाट भएन भने यात्रुहरुले एक सयमा फोन गरेर सूचना दिन सक्नुहुन्छ, हामी त्यस्तालाई कार्वाहीको दायरामा ल्याउँछौं ।’

यात्रु तान्नेमाथि पनि कारवाही


कलंकीमा बसेर जर्बजस्ती आफ्नो गाडी चढ्न लगाउनेहरु पनि प्रहरीको कार्वाहीमा परेका छन् । कलंकी चोकमा बस्ने र यात्रुलाई तानेर जर्बजस्ती चढाउने मकवानपुरका सन्तोष थिङ, दैलेखका युवक हमाल, झापाका नेत्रप्रसाद ढुंगाना र तनहुँका सविन भन्ने शैलेन्द्र रावल र दाङका पे्रम विक प्रहरी हिरासतमा परेका छन् । उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ ।

तोकिएको भन्दा दोब्बर भाडा असुल गरेपछि यात्रुहरु आफैंले एक सय नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी गराएका थिए । सूचना पाएलगतै पुगेको प्रहरी टोलीलले टिकट काट्ने बुढाथोकी सँगै सहयोगी सविन भन्ने सन्तवीर लामालाई पनि ठगीको मुद्दा चलाएको छ ।

बढी भाडा असुल गर्ने काठमाडौंका ७० वटा बस तथा माइक्रो पनि कार्वाहीमा परेका छन् ।

बढी भाडा असुल्ने टाटासुमो कार्वाहीमा

दशैं सुरु भएसँगै लाखौं मान्छे राजधानी छोडेर गृहजिल्ला जाने तयारीमा छन् । तर, सार्वजनिक यातायातको दादागिरीका कारण कैयौं यात्रुले सहजै टिकट पाउन सकेका छैनन् । टिकट पाउनेहरु पनि तोकिएभन्दा बढी भाडा तिर्न बाध्य छन् ।

आइतबार बिहानै यात्रुहरु घर जान कोटेश्वर पुगे । कोटेश्वरमा रहेको टाटासुमोको काउण्टरमा बर्दिबासका लागि टिकट काट्न पुग्दा काउण्टरवालाले टिकट छैन भन्दै फिर्ता पठाए ।

काउन्टरमा टिकट छैन भनिए पनि छेउमा रहेका दलालले रिजर्भको गाडीमा जाने भए लैजान सकिने बताए । यसरी टिकट पनि काट्न नदिने र रिर्जभका नाममा महंगो भाडा असुल गर्ने चार वटा टाटासुमोलाई प्रहरीले ठाउँको ठाउँ कार्वाही गरेको काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले बताए ।

काउण्टरमा टिकट छैन भन्दै रिर्जभका नाममा बढी भाडा असुल गर्न खोजेपछि यात्रुहरुले नै प्रहरीलाई खबर गरेका थिए । एसपी कार्कीका अनुसार कोटेश्वरबाट बर्दीबाससम्म सरकारले तोकेको भाडा ६ सय ६९ हो । तर, यातायात व्यवसायीहरुले ८ सय देखि एक हजारसम्म असुल गरिरहेका छन् ।

कतिपय टिकट काटेकाहरुको टिकटमा पनि टिकट मूल्य नतोकिएको भेटिएपछि प्रहरीले ना १ ज ५४६६, ना १ ज ४६२८ , ना १ ज ६३२७ नम्बरका टाटा सुमो सञ्चालकमाथि कार्वाही गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर वानेश्वर बृतको प्रहरीले तोकिएको भाडा अनुसार टिकट काटेर पठाएको छ ।

साथै अब आइन्दा यस्तो नगर्न चेतावनी पनि दिइएको एसपी कार्कीले बताए । यस्तै बा ४ ख ४७६५ नम्बरको माइक्रो बस पनि कार्वाहीमा परेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...