हाम्रा कुटनीतिज्ञहरुलाई निष्कासन गरेको जवाफ अमेरिकालाई दिन्छौँ’ - रसिया

- एजेन्सी, १५ पुस ।
अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित पार्न भूमिका खेलेको आरोपमा अमेरिकाले वासिङटनबाट रसियाका ३५ कुटनीतिज्ञहरुलाई निष्कासन गर्न गरेको निर्णयको ‘उचित जवाफ’ दिने रसियाले बताएको छ ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले क्रेम्लिनको प्रतिक्रियाले अमेरिकालाई ‘अप्ठ्यारो’ पर्ने चेतावनी दिएका हुन् ।
यद्यपि, उनले ‘जवाफ’ का लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसम्म पर्खने संकेत पनि दिएका छन् । ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा रसियाले ह्याकिङ गरेको आरोपको खण्डन गर्दै आएका छन् ।
बिहिबार अमेरिकी स्टेट डिपार्टमेन्टले वासिङटनमा रहेको रसियाली राजदूतावस र सानफ्रान्सिस्कोमा रहेको कन्सुलेटका ३५ जना रसियाली कुटनीतिज्ञ र उनीहरुको परिवारलाई अमेरिका छाड्न ७२ घण्टाको अल्टिमेटम दिएको थियो ।
त्यस्तै, अमेरिकाले रसियाको गुप्तचर संस्था जिआरयु र एफएसबीसहित ९ संस्था र व्यक्तिहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो । न्युयोर्क र म्यारील्याण्डमा रहेको रसियाली गुप्तचर संस्थाको कार्यालय बन्द गर्ने अमेरिकाले जनाएको छ ।
यसअघि, राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टलाई हराउन रसियाले साइबर आक्रमण गरेको आरोप लगाउँदै रसियामाथि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्रेम्लिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने, ‘पारस्परिक सिद्धान्तको आधारमा जनाइने प्रतिक्रियाले अमेरिकीहरुलाई पनि निकै अप्ठ्यारो पर्नेछ ।’ तर, उनले रसियाले ‘हतार’ मा कुनै पनि प्रतिक्रिया भने नजनाउने स्पष्ट पारे ।
‘यो निर्णय राष्ट्रपति ओबामाले लिएका हुन् । तर, तीन हप्तापछि ट्रम्प नयाँ राष्ट्रपति बन्नेछन्,’ उनले भने, ‘पक्कै पनि यो विषयलाई पनि ध्यानमा राखिनेछ ।’
President Obama expels 35 🇷🇺 diplomats in Cold War deja vu. As everybody, incl 🇺🇸 people, will be glad to see the last of this hapless Adm. pic.twitter.com/mleqA16H8D— Russian Embassy, UK (@RussianEmbassy) December 29, 2016
यता, बेलायतमा रहेको रसियाको राजदूतावासले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ओबामालाई ‘लेम डक’ को संज्ञा दिएको छ ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्याकिङको आरोप वाहियात भएको बताउँदै अमेरिकीहरुले अरुको भन्दा पनि अब आफ्नो जीवनको बारेमा ध्यान दिनुपर्ने बताएका थिए ।
हिलारीको चुनावी अभियानका म्यानेजर तथा डेमोक्र्याटिक नेसनल कमिटीको इमेल ह्याक गरी चुनावी प्रचार प्रसारको दौरान संवेदनशील र गोप्य इमेल विकिलिक्समार्फत सार्वजनिक गरिएको थियो । जसले हिलारीको अभियानमा धक्का पुगेको थियो ।
अमेरिकी गुप्तचर संस्था सिआइए र एफबिआईले उक्त ह्याकिङ प्रकरण हिलारी र डेमोक्र्याटिक पार्टीको छवि धुमिल्याउन र ट्रम्पको समर्थनमा लक्षित भएको निश्कर्ष निकालेको थियो ।
याे पनि पढ्नुहाेस - ३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन
प्रतिकृया दिनुहोस्
Loading...
