ज्ञानेन्द्रले प्रस्ताव गरे म राजसंस्था फर्काउन लाग्छु: खुमबहादुर खड्का



सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने भन्दै जतिसक्दो चाँडो प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् । 
नेता खडकाले मुलुक हिन्दुराष्ट्र भएरै छाड्ने समेत उद्धघोष गरे । हिन्दूराष्ट्रको पक्षमा आफू अन्तिम लडाई लड्ने तयारी रहेको समेत स्पष्ट पारे । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :
हिन्दुराष्ट्र बनाउनको लागि तपाई के गर्दैहुनुहुन्छ ?
मैले त यसबारेमा आफ्नो केन्द्रिय समितिमा पनि कुरा राखेको छु । अब संसदमा भएका साथीहरुले यो निर्णय गर्नुपर्ने हो । संविधान संशोधनमा हिन्दुराष्ट्रको कुरा गर्न पार्टीले गर्नुपर्ने हो । 
राप्रपाले गर्नुपर्ने हो । उहाँहरुले के गर्नुहुन्छ वा गर्नुहुँदैन ? यो मलाई थाहा छैन । म सदनमा छैन । तर जनताको माँझमा गैरहेको छु । जाँदै छु । अनि जान्छु पनि । म त अब अन्तिम लडाई लड्ने तयारी गरिरहेको छु ।
उसो भए अब हिन्दुराष्ट्र बनाउनको लागि तपाई कुनै कसर बाँकी राख्नुहुन्न ?
म कुनै कसर बाँकी राख्दिन् ।
अहिले पार्टीहरुको मत त्यतातिर छैन ? अनि तपाई कसरी हिन्दुराष्ट्र बनाउनुहुन्छ ?
जनता नै महान हुन् । उनीहरको निर्णय नै निर्णायक छन् ।
तपाईको पार्टीकै सभापति हिन्दुराष्ट्रको पक्षमा हुनुहुन्न । उसो भए तपाई उहाँलाई कसरी हिन्दुराष्ट्रको पक्षमा ल्याउनुहुन्छ ?
कोशिश गर्ने हो । मैले त भनिरहेको छु । उहाँ आउनुहुन्छ । तर मेरो अडान के हो भने पार्टीको महासमिति बैठक बोलाउँ अनि त्यहाँ छलफल गरौं भन्ने हो । जे हुन्छ त्यही गरौं ।
सभापतिले महासमिति बैठक बोलाउनुहुन्छ त ?
बोलाउनु होला नि । मैले त प्रस्ताव राखिसकेको छु । केन्द्रिय कार्यसमितिमा यो प्रस्ताव मैले गरेको छु । एक न एक दिन बोलाउनुहोला नि । यदि बोलाउनु भएन भने मैले चैत्रबाट आन्दोलन गर्ने घोषणा गरिसकेको छु ।
उसो भए तपाईको आन्दोलनमा क–कसको सहयोग रहन्छ ?
सबैको सहयोग हुन्छ वा हुँदैन त्यो मलाई थाहा छैन । तर अधिकांश नेपाली जनता र कार्यकर्ताको सहयोग हुन्छ ।
आजको दिनमा तपाईसँग कति प्रतिशत केन्द्रिय सदस्यहरु तपाईको पक्षमा छन् ?
होईन, कतिपय साथीहरु नेताको पछि लागेर बोल्न सक्ने अवस्थामा हुनुहुन्न तर हामी धेरै छौं । कतिपय साथीहरु सुस्त सुस्त खुल्नुहुन्छ ।
तपाईको कुरा पार्टीमै कसैले सुन्दैनन ? अनि असम्भव कुरा गरेर तपाई किन समय खेर फाल्दैहुनुहुन्छ ?
मैले त आफ्नो कुरा भनिरहेको छु नि । म त चैत्रबाट आन्दोलनमा जान्छु । जनताले माने त्यो संविधान हुन्छ । नमाने त्यो कागजको खोष्टो हुन्छ ।
उसो भए ०७२ सालमा जारी भएको संविधान नेपालको संविधान हो कि होइृन ?
नेपाली जनताले मानेको भए यस्तो किन हुन्थ्यो र ? जनताले यो संविधानलाई स्विकार गरेकै छैनन नि ।
अनि यो कुरा काँग्रेसले किन भन्न सकेको छैन ?
यसबारेमा काँग्रेसले निर्णय गर्न सकेन भने खाल्डोमा जान्छ । अब भीरबाट गोरुलाई राम राम भन्ने हो अरु के गर्न सकिन्छ र ? त्यसैले अब काँग्रेसका कार्यकर्ताहरुले यसबारेमा सोच्नुपर्छ ।
उसो भए पार्टी सभापतिसँग तपाईको असन्तुष्टि पनि छ ?
छैन । मेरो कुनै असन्तुष्टि छैन । तर कामकारवाही एकदमै ढिला भैरहेको छ ।
अहिलेसम्मको यहाँको बुझाईमा देउवा सफल कि असफल ?
यो कुरा मैले भन्ने कुरा हो र ? अहिले देउवाको कार्यशैली पनि असफलताको बाटोमा जाँदैहुनुहुन्छ ।
अनि तपाईले पार्टीमा उपसभापतिको दाबी छोडिदिनुभएको हो ?
मेरो सहमति भएको हो । उहाँले मलाई उपसभापति बनाउन सक्दिन भन्नुभयो । त्यसैले मेरो सहमति छ । तर उहाँले मलाई तेह्रौ महाधिवेशनमा उपासभापति बनाउँछु भन्नुभएको थियो । यो कुरा त दुनियाँले थाहा छ नि ।
तर गोपालमान श्रेष्ठले त तपाईले उहाँलाई उपसभापति बनाउन सहयोग गर्छु भन्नुभएको थियो रे नि ?
मैले म नबन्ने भएपछि उहाँलाई फोन गरेको हो । यो कुरा सत्य हो । सभापतिले जसलाई चाहनुभएको छ, त्यसलाई बनाउँदा हुन्छ ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई काँग्रेसले स्विकार गर्ने कि अस्विकार गर्ने ?
अब यो प्रस्ताव पारित हुँदैन । त्यसैले यो प्रस्ताव फिर्ता लिनु भन्दा अर्को कुनै विकल्प छैन । आन्दोलनलाई चर्काउने काम गर्नुहुँदैन । सकेसम्म यसलाई भोलि नै नभए पनि पर्सि नै फिर्ता गर्नुपर्छ । यो मेरो व्यक्तिगत भनाई हो ।
तर राप्रपाले सहयोग गर्यो भने त प्रस्ताव पारित हुन्छ अरे नि ?
त्यो पनि मुश्किल मुश्किल नै होला । तर मधेशवादी दलहरुले नै यसको विरोध गरिरहेका छन् ।
संशोधन प्रस्ताव परिमार्जन गरेर अघि बढ्यो भने नि ?
परिमार्जन भनेको के ? भाषाको कुरा नेपाली भाषा राष्ट्रिय भाषा हो ।
५ नम्बर प्रदेश तलमाथि गर्ने वा मधेश र पहाडलाई अलग गर्ने कुरामा यहाँको सहमति छ कि छैन ?
सबैभन्दा पहिले यो प्रस्ताव मैले नै राखेको हुँ । यदि देशले निकास पाउँछ भने यो कुरा हामीले मान्नुपर्छ भनेको हुँ । सभापतिले सबै पदाधिकारीहरुसँग छलफल गरेर नै यो प्रस्ताव ल्याएको हो । तर जनताहरु सडकमा उत्रिएका छन् । अब यसबारेमा पार्टीले पूर्नविचार गर्नुपर्छ ।
तपाईहरु अहिले संघीय प्रणालीको विपक्षमा उभिनु भयो नि ? किन ?
संघीयता भनेको कुरा नै गलत हो । म यसको पक्षपाती होईन । विदेशीहरुले चलखेल गर्दैछन् । म संघीयताको विरोधी पनि होईन । मान्ने हो भने ५ प्रदेशमा जानुपर्छ ।
तर तपाईलाई गणतन्त्रविरोधी नेता भनेर पनि भनिन्छ नि ?
म गणतन्त्रको विरोधी होईन ।
तपाईमाथि राजसंस्था फर्काउन चाहने भनेर आरोप छ ?
भन्नेहरुले त मलाई के के भने । भने नि । हिजो रअको मान्छे भएँ । अहिले राजा गएको १० वर्ष भयो, म राजावादी भएँ । एउटा कुरा सत्य कुरा के हो भने यो देशमा राजसंस्था हटाउने बेला सबैभन्दा पहिले गणतन्त्रको पक्षमा कुनै माईका लालले बोल्न नसकेको बेला मैले नै यसकोबारेमा बोलेको हुँ ।
त्यतिवेला मैले गणतन्त्रको प्रस्ताव केन्द्रिय समितिमा राखेको थिएँ । तर जुन दिन राजसंस्था फ्याँकिदै थियो, त्यतिवेला मैले के भने नेपाली काँग्रेस कमजोर भएको छ। त्यसैले मैले राजसंस्थालाई कुनै न कुनै स्पेश दिनुपर्छ भनेको हुँ ।
ज्ञानेन्द्र शाहलाई पूनः राजा बनाउन तपाई लाग्नुभएको छ भन्ने आरोप पार्टीभित्रैबाट तपाईलाई लगाईएको छ नि ?
लगाउनेले जेसुकै आरोप लगाउन न । राजा हटेको १० वर्ष भयो । तर पूर्वराजाको भ्रमणमा वा राजा जिल्ला जाँदा मान्छेहरुको ठूलो भिड लागेको छ । 
किन लाग्ने गरेको छ त यो भीड ? केही आकार्षण छ र त हेर्ने जान्छन् । यो राष्ट्र पृथ्वीनारायण शाहले बनाएको राष्ट्र हो । राष्ट्र बचाउन नेपाली काँग्रेसले भूमिका निर्वाह गर्नुपर्छ ।
तर राजसंस्था फर्काउनुपर्छ भनेर भन्ने त कोही पनि छैन नि नेपालमा ?
किन छैनन ? कमल थापाले छोड्दैमा हुँदैन ?
भनेपछि तपाईलाई पूर्वराजा ज्ञानेन्द्रले मोहनी लगाए ?
मलाई कसैले मोहनी लगाउनुपर्दैन् । हिजो म माओवादीसँग पनि भीडेको हुँ । एमालेसँगपनि भिडेको हुँ । अहिले पार्टीभित्रपनि म लडिरहेको छु ।
भनेपछि तपाई र ज्ञानेन्द्रवीच भेटवार्ता भएको छ नि ?
छैन । उहााले चाहनुभयो भने हुन्छ । मैले चाहेर हुने हो र ? मैले किन भेट्ने ?
भनेपछि अब तपाई राजासहितको प्रजातन्त्रको वीपीको मेलमिलापको नीतिमा जान लाग्नुभएको हो ?
म बीच बाटोमा छु । म पार्टीभित्र वीपीको विचार हुबहु लागु गर्नुपर्छ भन्नेपक्षमा छु । वीपीको विचारमा अघि बढ्न सकिएन भने काँग्रेस पार्टी पनि काम लाग्दैन ।

प्रतिकृया दिनुहोस्

Loading...