एक पुरुष र दुई महिलाबाट मिश्रित सन्तान जन्मियो !


  • काठमाडौं, २ पुस ।

बेलायतकी शारोन बर्नार्डीले प्रत्येकचोटि गर्भवती हुँदा स्वस्थ बच्चा जन्माउने सपना देखिन्, तर उनको सपना कहिल्यै पूरा भएन।

स्नायु प्रणालीमा आघात पार्ने रोगले उनका सात सन्तानको लगालग मृत्यु भयो। केही सन्तान त जन्मेको केही घन्टामै बितेका थिए। चौथो सन्तान एडवार्ड जन्मेपछि बल्ल डाक्टरले कारण पत्ता लगाए- आमाको जिनमा रहेको समस्या, जुन बच्चामा सरेर मृत्युको कारण बनेको थियो।

शारोनका सात सन्तानमध्ये अलि लामो समय बाँचेको एडवार्ड मात्र हो। २१ वर्ष रोगी जीवन बिताएर उनको मृत्यु भएको थियो।

शारोन र उनका पतिले भोग्नुपरेको यही समस्याबारे बेलायतमा भएको वैज्ञानिक अनुसन्धानले हालै त्यसको समाधान निकालेको छ।

प्रजनन् स्वास्थ्य क्षेत्रमा विकास गरिएको यो नयाँ खोजअनुसार अब आमा र बाबुको मात्र होइन, तेस्रो व्यक्तिको पनि जिन समावेश गरेर सन्तान उत्पादन गरिएको छ। बेलायतमा विकास भएको प्रजननसम्बन्धी यो विधिलाई आगामी बिहीबार त्यहाँको सरकारी निकाय 'ह्युमन फर्टिलाइज एन्ड एम्ब्रोलोजी अथोरिटी' (एचएफइए) ले अनुमोदन गर्ने तयारी गरेको छ।

आगामी बिहीबार उक्त प्रजनन् विधिले कानुनी मान्यता पाएपछि सन् २०१७ को अन्त्यबाट तीन जना व्यक्तिको जिनबाट सन्तान जन्माउने प्रक्रिया सुरु हुनेछ।

यो विधिअन्तर्गत आमा र बाबुका अतिरिक्त तेस्रो महिलाबाट पनि जिनको सानो अंश बच्चामा मिसाइन्छ। यसले नयाँ जन्मने बच्चामा एक पुरुष र दुई महिलाको गरी तीन जना व्यक्तिको जिन सरेको हुन्छ।

अब प्रश्न उठ्छ, वैज्ञानिकहरुले सन्तान उत्पादनको यस्तो विधि कसरी प्रतिपादन गरे?

हाम्रो जिनमा 'मिटोकोनड्रिया' भन्ने एउटा सानो तत्व हुन्छ, जसले हामीले खाएका खानेकुरालाई शक्तिमा परिणत गर्छ। बच्चामा यो तत्व आमाको जिनबाट मात्र सर्छ। शारोनको जिनबाट सरेको यो तत्व भने आफैंमा समस्याग्रस्त भएकाले बच्चाहरुमा मिटोकोनड्रियाले राम्ररी काम गर्न सकेन।

वैज्ञानिक अनुसन्धानअनुसार ४ हजार ३ सय बच्चामध्ये एक जनामा 'मिटोकोनड्रिया' सम्बन्धी समस्या देखिने गर्छ। यो रोगले बच्चा अत्यन्तै कमजोर हुन्छ। मुटु, दिमाग र शरीरका अन्य मांसपेशीसमेत राम्ररी चल्न सक्दैनन्।

आमाको जिनबाट मात्र सर्ने यो तत्व समस्याग्रस्त छ भने त्यसलाई झिकेर अर्की महिलाको जिनबाट स्वस्थ मिटोकोनड्रिया बच्चामा सार्ने विधि वैज्ञानिकहरुले निकालेका हुन्। यसमा स्वस्थ बच्चा जन्माउन अर्की महिलाको 'अन्डा' बाट सानो अंश निकालेर नयाँ बच्चामा सारिन्छ। बच्चाले ०.१ प्रतिशत डिएनए तेश्रो महिलाबाट प्राप्त गर्छ।
शारोनले पनि मिटोकोनड्रियाको गडबडीले बच्चामा पर्ने असरसम्बन्धी यो अनुसन्धानमा सहयोग गरेकी छन्।

के यस्तो काम नैतिक रुपले मान्य हुन्छ?
सन् २०१५ मा बेलायतका दुवै सदनले उक्त विधि प्रयोगलाई स्वीकृति दिएका थिए। ‘नुफिल्ड काउन्सिल अफ बायोएथिक्स’ र ‘एचएफइए’ ले समेत यसलाई ‘नैतिक’ ठहर गरेका थिए। तर, आठवटा गर्भधारणमध्ये एउटामा उक्त विधि सफल नदेखिएपछि यसको प्रयोगबारे चिन्ता पैदा भएको थियो। त्यसपछि उक्त विधिको प्रयोगमै केही ढिलाइ भयो।

थप अनुसन्धानपछि एचएफइएले गत महिना घोषणा गर्यो– अब यो विधि प्रयोग गर्ने समय आयो।

‘अब स्वस्थ बच्चा जन्माउने यो विधिलाई रोक्नुपर्ने कुनै कारण छैन। तर, यसलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्छ,' एचएफइएका सल्लाहकार लोभेल ब्याजले बिबिसीलाई भने, 'मिटोकोनड्रियाबाट बच्चालाई अत्यन्त धेरै जोखिम छ, त्यस्ता केस छानेर मात्र यो विधि प्रयोग गर्नुपर्छ।’

अब बेलायत तीन व्यक्तिको जिनबाट बच्चा कानुनी रुपमा जन्माउने पहिले देश हुनेछ। यो अनुसन्धानको अधिकांश भाग बेलायतकै युनिभर्सिटी अफ न्युक्यासलमा विकास भएको हो। यसअघि न्युयोर्कका डाक्टरले मेक्सिकोमा एउटा बच्चा जन्माउन यो विधि प्रयोग गरेका थिए। उक्त बच्चा स्वस्थ छ।

हुन त यो विधिलाई कानुनी मान्यता दिनु हुन्न भन्ने आवाज पनि छन्।

‘बेलायतले लिएको यो निर्णयले जिन परिवर्तनमार्फत् कस्तो बच्चा जन्माउने भन्ने डिजाइन गरेर बच्चा जन्माउन सक्ने सम्भावना निम्ति मेडिकल साइन्सको ढोका खुलेको छ,’ ‘जेनेटिक्स अलर्ट’ भन्ने अभियानमा संग्लग्न डाक्टर ड्याभिड किंगले भने।

, ,

प्रतिकृया दिनुहोस्

Loading...