त्रिशूली थ्री ‘ए’को सडक मर्मतको जिम्मा सेनालाई


  • काठमाडौं, १५ पुस ।

सरकारले भूकम्प र पहिरोले क्षति पुर्‍याएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको प्रवेश सडक मर्मतसम्भार गर्न नेपाली सेनालाई जिम्मा दिएको छ । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले आयोजनाको बाँधको दायाँ–बायाँ र पहुँच (प्रवेश) मार्गको विभिन्न स्थानमा गएको पहिरो रोकथामको काम गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । 
‘सडक निर्माणसँगै सेनाले बाँधको दायाँ–बायाँको पहिरो रोकथाम गर्न सुरक्षा पर्खाल (प्रोटेक्सन वाल) पनि लगाउनेछ,’ उनले भने, ‘अब भूकम्पछि अवरुद्ध रहेको आयोजनाको निर्माण सुरु गर्न बाटो खुलेको छ ।’ यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

नेपाल विद्युत् प्राधिकरणले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत सेनामार्फत गराउने निर्णय गरेको थियो । नुवाकोटको सिम्लेमा रहेको पावर हाउसदेखि रसुवाको फालेटारमा रहेको हेडवक्र्स पुग्ने करिब ५ किलोमिटर सडक अघिल्लो वर्षको भूकम्प र बाढीपहिरोले क्षतिका कारण भत्किएको थियो ।

गल्छी–रसुवागढी सडकखण्डमा पर्ने सडकलाई सेनाले यसअघि नै मर्मत गरेको भए पनि यस वर्षको वर्षात्का कारण फेरि क्षति पुगेको थियो । केही ठाउँमा ट्र्याकसमेत नभेटिने गरी सडक क्षतिग्रस्त भएको छ । सेनाले काम सुरु गर्नासाथ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले निर्माण सुचारु गर्ने आयोजनाले जनाएको छ ।

मन्त्रिपरिषद्ले आयोजनाको बाँधको दायाँ–बायाँ र पहुँच (प्रवेश) मार्गको विभिन्न स्थानमा गएको पहिरो रोकथामका लागि ६१ करोड १८ लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ । प्राधिकरणले आयोजनाको म्याद ३४ महिना थप गरेको छ । 

लक्ष्यअनुसार काम भएकामा आयोजनाको निर्माण ०७६ को वैशाखमा मात्रै सकिनेछ । प्राधिकरणले भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भन्दै आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...