आक्रामक अवस्थामा रहेका सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सी पर्ने संकेत


  • काठमाडौं, १७ पुस ।

सोमबार अर्थात् १८ गते बस्ने व्यवस्थापिका संसदमा सत्तापक्ष र प्रतिपक्षवीच घम्साघम्सी हुने संकेत देखिएको छ । प्रतिपक्षी एमालेको अवरोधका वीच सत्तापक्षले सोमबार संसदमा संविधान संशोधन प्रस्ताव टेवल गर्ने गृहकार्य अघि बढाएको छ ।

सत्तापक्षले संसदलाई लामो समय अनिर्णयको बन्दी बनाएर राख्न नसकिने भन्दै सोमबार संसदमा ‘जसरी पनि’ संशोधन प्रस्ताव टेबल गर्ने प्रतिवद्धता मधेसी मोर्चाका नेताहरुसँग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको मधेसी मोर्चा माओवादी नेतावीचको छलफलमा संसदको अबको बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने आश्वासन दिएको मधेसी मोर्चाका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए ।

गणतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका यादवले बालुवाटार वार्ताको निश्कर्ष सुनाउँदै भने, ‘प्रधानमन्त्रीजी निकै उत्साही देखिनुभएको हामीले पायौं, सोमबार संसदमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने र प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।’

संशोधन प्रस्ताव अघि बढेपछि चुनावमा जानेबारे मोर्चाका नेता र प्रधानमन्त्रीवीच छलफल भएको यादवले बताए ।

प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने शनिबार नै राजधानीमा आयोजित एक कार्यक्रममा संविधान संशोधन प्रस्ताव अघि बढाउन नदिने अडान दोहोर्‍याएका छन् ।

कार्यक्रममा ओलीले भने- ‘संविधान संशोधन प्रस्ताव पारित हुँदैन, महाअभियोग -लोकमानसिंह कार्कीमाथि लागेको) पारित हुन्छ । चुनाव नगराउने षडयन्त्र असफल हुन्छ ।’

प्रतिपक्षले संशोधन प्रस्ताव संसदमा टेबल नै गर्न नदिने बताइरहेका बेला सरकारले सोमबार प्रस्ताव टेबल गर्न खोजेमा संसदमा धम्साधम्सी पर्ने र प्रतिपक्षले अवरोध गर्न सक्ने सम्भावना देखिएको छ ।

१६ पुस २०७३ मा प्रकाशित। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...