सदुरपश्चिम विश्वविद्यालयको मुलगेटमा तीन ताला

  • कञ्चनपुर, पुस १३ । 
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मुख्य गेटमा लगातार तालाबन्दी हुँदै गएपछि एउटै गेटमा तीन वटा ताला लागेका छन् ।

यस अघि बिद्यार्थी र नेविसंघका बिद्यार्थी नेताले तालबन्दी गरि तालाबन्दी जारी नै रहेको अवस्थामा आज नेविसंघ र दुई वटा संकायका बिद्यार्थीहरुले सयुक्त रुपमा अर्को ताला लगाएपछि एउटै गेटमा तालाको संख्या तीन पुगेको हो ।
विज्ञान तथा प्रविधि र ईन्जिनीयरीङ्ग संकायमा ल्याब स्थापनाको माग राख्दै नेपाल विद्यार्थी संघ र दुवै संकायका विद्यार्थीहरुले मुल गेटमा तालाबन्दी गरेका हुन् ।
मुल गेटमा तीन वटा ताला लगाएपछि विश्वविद्यालयको दैनिक कामकाज समेत ठप्प भएको छ । विज्ञान तथा प्रविधि र ईन्जिनीयरीङ्ग संकायका विद्यार्थीले पुस ५ गते तालाबन्दी गरेका थिए भने पुस ८ गते नेविसंघ विश्वविद्यालय समितिले समेत तालाबन्दी गरेको थियो ।
मागबारे सुनुवाई नभएका कारण तालाबन्दी माथी तालाबन्दी भईरहेको विद्यार्थिहरुले बताएका छन् । बुधबार विद्यार्थीहरुले केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका छन् । विद्यार्थिहरुले विहान दुई घण्टा विश्वविद्यालयको मुल गेटमा नै धर्ना दिएका हुन् ।
धर्ना दिदै विद्यार्थीहरुले पदाधिकारीहरुको राजिनामाको समेत माग गरिरहेका छन् । विद्यार्थीहरुको समस्या समाधान गर्नुको साटो जिम्मेबार पदाधिकारी नै सम्पर्क बाहिर गएको भन्दै विद्यार्थीहरुले आफुहरुको भविष्य अन्यौल परेको गुनासो गरेका छन् ।
तालाबन्दी भएसंगै उपकुलति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्ट काठमाण्डौँ हिडेपछि केन्द्रिय कार्यालयका कर्मचारी समेत आएका छैनन् । बुधबार कार्यालयमा सुरक्षा गार्ड बाहेक अन्य कुनैपनि कर्मचारी उपस्थित थिएनन् ।
उता सुदूरपश्चिम विश्वविद्यालयले भने तालाबन्दी र ल्याबका विषयमा छलफल भएर समाग्री आफूर्तिका लागि टेण्डर भईसकेको जनाएको छ । लामो समयदेखि विश्वविद्यालयमा अराजकता बढ्दै गएको र दिनहुँजसो विश्वविद्यालयमा हुने आन्दोलन हड्ताल देखेर अभिभावक समेत चिन्तित बन्दै गएका छन् ।
लामो संघर्षपछि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय जस्तो गरिमामय शैक्षिक क्षेत्रमा पछिल्लो समय भईरहेका राजनितिक हस्तक्षेप तथा अराजक गतिविधिले सुदूरपश्चिम वासिहरु चिन्तित भएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...