दलाल र भ्रष्टहरूलाई अब रत्नपार्कमा ल्याएर जनकारवाही गर्नुपर्छ - विप्लव (भिडियोसहित)

दिया चन्द ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ' विप्लव' ले अब दलाल र भ्रष्टहरूलाई रत्नपार्कमा ल्याएर जनकारवाही गर्नुपर्ने बताएका छन् ।अख्तियार पूर्व प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्र बुढाको अभिनन्द गर्दै विप्लवले दलाल र भ्रष्टहरुलाई अब रत्नपार्कमा ल्याएर जनकारवाही गर्नु पर्ने बेला आएको बताएका हुन् ।
उनले प्रचण्ड–बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेको पनि आरोप लगाए । 'प्रचण्ड–बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिको यात्रा रोकिदैन।' विप्लवले भने, 'आफ्नो स्वार्थको लागि जनताको बिरुद्धमा काम गर्ने र विदेशीहरुको अगाडी लम्पसार पर्ने प्रबृत्तिले देश कहिले अगाडी बढ्दैन ।'
अखिल क्रान्तिकारीले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै विप्लवले दलाल भ्रष्ट र विदेशीको डिजाईनमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको बताए । कार्कीमाथिको कालोमोसो संकेतिक मात्र भएको र दलाल–भ्रष्टविरुद्ध क्रान्ति गर्नु पर्ने बताउँदै महासचिव विप्लवले आवश्यक परे आफूहरु जीवन बलिदान गर्न पनि तयार रहेको प्रष्ट पारे ।
नेपालमा अहिले दलाल संसदीय व्यवस्था ब्युतिएको भन्दै त्यसको अन्त्य नगरेसम्म देश र जनता समृद्ध नबन्ने उनको ठोकुवा छ । 'वैज्ञानिक समाजवाद स्थापनार्थ र देशको स्वाभिमान जोगाउनका लागि जस्तो सुकै कदम चाल्न हामी तयार छौं ।' विप्लवले भने ।
गत पुस ७ गते सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने अखिल (क्रान्तिकारी) का दुई केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढा शुक्रबारमात्रै रिहा भएका थिए ।

महाभ्रष्टको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठनका शाही र बुढाले सर्वोच्च परिसरमै कालोमोसो दलेर जनकारवाही गरेको बताएका थिए ।
कालोमोसो दले लगत्तै गिरप्तार परेका दुवै जनालाई अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको थियो । अदालतले तोकेको कैद सजाय शुक्रबार सकिएको हो ।
थुना मुक्त भएका आफ्ना कार्यकर्तालाई अखिल (क्रान्तिकारी) ले प्रहरी परिसर टेकुबाट त्रिपुरेश्वर चोकसम्म जुलुस निकालेर फूलमाला अबिर लगाई भव्य स्वागतका साथ सम्मान गरेको थियो ।
महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको र्याली त्रिपुरेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो । आइतबार शाही र बुढासंगै दिपेन्द्र गौतमलाई सम्मान पत्रसहित खादा ओडाएर पार्टी महासचिव विप्लवले सम्मान गरेका हुन् ।
हेर्नुहोस् भिडियो
२०७३ माघ ९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...