थ्रेसहोल्ड ३ प्रतिशत राख्न दलहरु ‘सहमति’ नजिक, देउवा गुहार्न निवासमै पुगे साना दल

  • काठमाडौं, १८ माघ ।

प्रमुख दलहरु समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक पुगेका छन् ।

शीर्ष तहमा अनौपचारिक सहमतिपछि राज्य व्यवस्था समितिले मंगलबारै राजनीतिक दल सम्बन्धी बिधेयक पारित गरेर संसद बैठकमा पठाउने तयारी गरेको छ ।

यदि तीन प्रतिशत थ्रेस होल्ड राखियो भने अहिलेका अधिकांश एक सिट र दुई सिट रहेका साना दलको अस्तित्व अर्को चुनावमा समाप्त हुनेछ ।

तीन प्रतिशत थ्रेस होल्डमा सहमति जुट्न लागेको राज्य व्यवस्था समिति अन्तर्गत गठित उपसमितिका सदस्य एवं एमाले सांसद रामेश्वर फुयाँलले बताए ।

निर्वाचन चिन्ह सम्बन्धी विवाद पनि सल्टिएको छ । राष्ट्रिय झण्डासँग मिल्ने चुनाव चिन्ह खारेज हुने भन्ने दफा नै हटाइएको छ । यो दफा नै हटेपछि एमालेको सूर्य र राप्रपाको गाई चुनाव चिन्ह जोगिएका छन् ।

त्यस्तै बिभिन्न दलहरु मिलेर एउटै गठबन्धन बनाई एउटै चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्ने मागलाई उपसमितिले अस्वीकार गरेको छ । बिचार मिल्ने दलहरु चुनावमा गठबन्धन बनाएर जाँदा कुनै एक चिन्हलाई साझा चिन्हका रुपमा प्रयोग गर्न पाउनुपर्ने गरी संशोधन पेश भएको थियो ।

स्थानीय तह सम्बन्धी बिधेयक पनि मंगलबार नै टुंगो लगाउने तयारी भइरहेको छ ।

स्थानीय तह र राजनीतिक दल सम्बन्धी दुवै बिधेयक राज्य व्यवस्था समितिले पारित गरेर संसदमा पठाउने भएको छ । संसदले यी दुई बिधेयक पारित गरेपछिमात्र निर्वाचन सम्बन्धी काम अघि बढाउन बाटो खुल्नेछ ।

थ्रेस होल्ड नराख्न देउवा गुहार्दै निवासमै पुगे साना दल

साना दलहरुले थ्रेस होल्ड नराख्न माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । थ्रेस होल्डको नेकपा माले, नेपाल मजदूर किसान पार्टी लगायतले पनि बिरोध गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा थ्रेस होल्डबारे मौन छ तर, मोर्चा आबद्ध अधिकांश दलहरुले थ्रेस होल्डको विरोध गरेका छन् ।

नेकपा माले, नेमकिपा लगायतका साना दलका सांसदहरुले मंगलबार बिहान देउवालाई भेटेका हुन् । समानुपातिक निर्वाचन प्रणालीमा निश्चित मत नल्याएसम्म सांसद नपाउने व्यवस्था भएको र यो नै एक प्रकारको थ्रेस होल्ड भएको भन्दै उनीहरुले अर्को व्यवस्था नगर्न माग गरे ।

पहिलो र दोस्रो संविधानसभामा झण्डै २० हजार मत ल्याएका दलले एक सभासद पाएका थिए । अब झण्डै ९० हजारदेखि १ लाखसम्म मत ल्याउनेले मात्र सांसद पाउने भन्दै साना दलले अर्को छुट्टै व्यवस्था नगर्न आग्रह गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...