चीनले नेपाल कब्जा गरेर भारतमा आक्रमण गर्नसक्छ ?

  • काठमाडौं, १४ माघ । 
बेइजिङले एकतर्फी युद्ध विराम घोषणा गरेपछि १९६२ को चीन-भारत युद्ध सकियो ।

तर, युद्ध सकिएको केही समयपछि नै चिनियाँ जनमुक्ति सेनाले नेपाल पसेर भारतमाथि निरन्तर आक्रमण गर्ने विश्लेषण अमेरिकाले गरेको खुलासा भएको छ ।

कठोर कम्युनिष्ट विरोधी नीति लिएको अमेरिकाको यो विश्लेषण भने गलत रहृयो ।

अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएको हालै सार्वजनिक भएका ऐतिहासिक दस्तावेजहरुका अनुसार चीनले तिब्बत, म्यानमार र भुटानका साथै नेपालमा बसेर भारतमाथि आक्रमण गर्न सक्ने डर अमेरिकालाई थियो ।

१९६२ मा सुरु भएको चीन भारत युद्धका दौरान अक्टोबर महिनामा चिनियाँ सेनाले भारतको लदाख र हालको अरुणाञ्चल प्रदेशको सीमामा धावा बोलेको थियो । तर, एक महिनापछि नै बेइजिङले आफ्नो सेनालाई एकतर्फी रुपमा फिर्ता बोलायो ।

१९६३ को जनवरीमा सीआईएका एजेन्टहरुले चीनले एक लाख २० हजारसम्म सैनिक खटाएर छिमेकी देशहरु हुँदै भारतमाथि आक्रमण गर्न सक्ने अनुमान गरेका हिन्दुस्तान टाइम्सले लेखेको छ ।

अमेरिकाको प्रतिरक्षा गुप्तचर संस्थाले ‘भारतमाथि चिनियाँ कम्युनिष्टहरुको खतरा’ शीर्षकमा रिपोर्ट तयार पारेको थियो । जसमा चीनले चाहेमा लदाख, नेपाल, भुटान र हालको अरुणाञ्चल प्रदेशको प्रयोग गरेर भारतसँग अनिश्चितकालसम्म युद्ध गरिरहन सक्ने उल्लेख छ ।

यस्तो आक्रमणको उद्देश्य लदाखमा रहेको लेह शहर कब्जा गर्नु र नेपाल कब्जा गरेर भविश्यमा हुन सक्ने भारतीय हस्तक्षेप अन्त्य गर्नु भएको सीआईएको रिपोर्टमा उल्लेख छ । साथै अरुणाञ्चल प्रदेश हुँदै असाम र ब्रम्हपुत्र नदीको उत्तरसम्म पुग्नु चीनको उद्देश्य हुने सीआईएको दाबी थियो ।

तर, बेइजिङका लागि सैन्य सामाग्रीका साथै मौसमको प्रतिकुलता दुई चुनौती हुने विश्लेषण थियो ।


सीआईएको रिपोर्ट अनुसार चीनसँग तिब्बतमा मात्र १ लाख २० हजार सैनिक तयारी अवस्थामा थिए र, बेइजिङले चाहेको बेला भारतलाई धक्का दिन सक्थ्यो ।

तर, अमेरिकी गुप्तचर एजेन्सीले विश्लेषण गरे जस्तो न चीनले नेपाल हुँदै भारतमा आक्रमण गर्‍यो न बर्मा, भुटानसहितका देशबाट नै । उसको यो रिपोर्ट पनि अन्य थुप्रै विश्लेषणहरु जस्तै गलत सावित भएको पाइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...