खानेपानीको महसुल नतिर्नेले मेलम्चीको पानी नपाउने

  • काठमाडौं, ८ माघ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।

लिमिटेडको दुई अर्ब १२ करोड पाँच लाख रुपैयाँ महसुल उठ्न बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा. महेशकुमार भट्टराईले जानकारी दिए ।

विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले यस्तो तयारी गरेको हो । ‘लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा हाल बिच्छ्याइएकाे पाइप फेरि बिच्छ्याउन सडक खन्न झन्झट हुने भएकाले महसुल नतिरेका ग्राहकको घरसम्म पनि पाइप पुग्छ, तर अहिलेको पाइप प्रणालीमा विशेष प्रविधि भएकाले महसुृल नतिर्ने ग्राहकलाई पानी दिइदैन, मिटर राखेर धारामा पानी पठाइँदैन’–उनले भने ।

यो विशेष किसिमको साँचो (भल्भ बुक कि) लिमिटेडसँग मात्र हुने व्यवस्था भएकाले महसुल नतिर्ने ग्राहकलाई कडाइ गरिन लागेको हो । यो प्रणाली नेपालमा पहिलोपटक जडान हुँदैछ ।

मेलम्चीको पानी आएपछि वितरणका लागि सञ्जाल निर्माण गरिरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले नयाँ प्रविधिले पाइप प्वाल पारेर चोरी गर्नेलाई रोक्न नसके पनि वैधानिक रुपमा दर्ता भई मिटर जडान गरेका ग्राहकको मिटरमा पानी नजाने गरी बन्द गर्न सकिने व्यवस्था गरिएको बताए।

‘मिटर अघि सानो ‘मेकानिकल डिभाइस’ राखिन्छ, यसलाई उपभोक्ता आफैँले खोल्न सक्दैनन्, खोल्नका लागि लिमिटेडका कर्मचारीले विशेष प्रकारको साँचो प्रयोग गर्नुपर्छ, पहिले जस्तो प्लम्बरले सानो पानी आउँदा बढाउन सकिने व्यवस्था अहिले छैन, यो व्यवस्था गरेपछि पानीको अव्यवस्था हट्ने विश्वास छ’–उनले भने ।

,

प्रतिकृया दिनुहोस्

Loading...