विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्न माग

- काठमाडौं, १० माघ ।
विद्युत् चोरीमा संलग्न कर्मचारीलाई कारबाहीको दायरा अगाडि बढाइएकोमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ तथा सङ्गठन यसको स्वागत गरेका छन् ।
महानगरीय प्रहरी प्रभावले विद्युत् चोरीमा संलग्न १६ जनालाई आइतबार पक्राउ गरेपछि नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा कर्मचारी युनियनले यसको स्वागत गरेको हो ।
प्राधिकरणका कर्मचारीको मिलेमतोमा नै विद्युत् चोरी हुने गरेको तथ्यलाई पुष्टि हुने गरी महानगरीय प्रहरीले आइतबार मात्रै विभिन्न वितरण केन्द्रका कार्यरत कर्मचारीलाई पक्राउ गरेको थियो । नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव माधव अधिकारीले प्राधिकरणकै कर्मचारी विद्युत् चोरीमा संलग्न हुनु अक्षम्य अपराध भएकाले कडा कारबाही गर्न र थप अनुसन्धान गर्न आग्रह गरे।
उनले संस्थालाई हानिनोक्सानी गर्नेलाई कारबाही गरे मात्रै प्राधिकरणको आर्थिक स्वास्थ्य राम्रो हुने र त्यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए।
यस्तै नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले विद्युत् चोरीमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिएको विषय स्वागतयोग्य रहेको बताए। उनले मुलुकका अन्य सहरी तथा औद्योगिक क्षेत्रमा समेत आफ्नो स्वार्थ पूर्तिका लागि संस्थालाई घाटा पुर्याउन उद्यत तत्वहरु हुनसक्ने भएकाले त्यसको खोजी गरी कारबाही गर्न र प्राधिकरणको हित, उन्नति र प्रगतिमा बाधक रहेको तत्वलाई कडा कारबाही गर्न माग गरे।
महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएका प्राधिकरणका कर्मचारी विभिन्न ट्रेड युनियनमा आबद्ध रहेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...