स्थानीय तह पुरानो विदा नहुदै नयाँ नेतृत्वको चुनाव

  • काठमाडौं,१८ माघ । 

स्थानीय तहको चुनाव पाँच वर्षे कार्यकाल सकिनुभन्दा दुई महिना पहिले नै हुने भएको छ । त्यसकारण स्थानीय तह अब एक दिन पनि नेतृत्वविहीन नहुने भएको छ । यसले स्थानीय तह अविच्छिन्न अधिकारसम्पन्न संस्था हुनेछ ।
संसदको राज्य व्यवस्था समितिको उपसमितिले स्थानीय तहको चुनाव सम्बन्धी विधेयकलाई अन्तिम रुप दिँदै पदावधि सकिनुभन्दा दुई महिना पहिले चुनाव गर्नुपर्ने प्रस्ताव राखेको हो । 

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन भएको अहिलेको तीतो अनुभवबाट सिकेर कानुनमै स्थानीय तह अविछिन्न बनाउन दुई महिना पहिले नै चुनाव गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।

संविधानले पदावधि सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था भएपनि दलहरुले पदावधि सकिनुभन्दा दुई महिना पहिले नै चुनाव गर्ने प्रावधानमा सहमत भएका हुन् । 

विधेयकमा अब स्थानीय चुनाव भएको सात दिनभित्र निर्वाचित प्रतिनिधिले पदभार ग्रहण गरिसक्नुर्ने प्रावधान राखिएको उपसमितिकी सदस्य ईश्वरी न्यौपानेले जानकारी दिए ।

सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वको उपसमितिले पारित गरेको विधेयकलाई भोलि बुधबार नै राज्य व्यवस्था समितिबाट अनुमोदन गराएर दिउँसो ३ बजे बस्ने संसद बैठकमा पेश गरिनेछ । 

विधेयकले गाउँपालिका, नगरपालिका वा जिल्लासभामा दलहरुले उठाउने प्रमुख र उपप्रमुखको उम्मेद्वारमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै प्रत्येक वडाबाट कम्तिमा दुईजना महिला सदस्य चुनिंदा हुँदा एकजना दलित हुनुपर्ने प्रावधानपनि राखिएको सांसद न्यौपानेले जानकारी दिए । संसदले यसअघि चुनावका लागि चाहिने अरु तीनवटा महत्वपूर्ण विधेयक पारित गरिसकेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...