प्रहरी गाउँमा आउँदा दुःखी हुन्छन् भालेबासका महिला

  • पाल्पा,१८ माघ ।
प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् ।

पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि ।

दोष–निर्दोष प्रहरीको होइन, गरिबीको कारण जीविकोपार्जनको हो । अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला प्रहरीदेखि सधैँ टाढा रहन चाहन्छन् ।

अवैधरुपमा घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला गाउँमा प्रहरी पस्दा आफू जोखिममा पर्ने भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने मन नगर्ने हुन् ।

आर्थिकरुपमा विपन्न मगर समुदायको बाहुल्य रहेको यस गाविसमा महिलाले रक्सी उत्पादन, बिक्री वितरणबाट जीविकोपार्जन गर्न खोज्दा जोखिम हुन्छ । उनीहरुलाई प्रहरीले जतिबेला पनि नियन्त्रण गर्नसक्ने भएपछि प्रहरीदेखि टाढा रहन चाहनु महिलाको बाध्यता हो ।

स्थानीय बासिन्दा प्रहरीले जतिबेला पनि आफूहरुलाई समात्न सक्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन मान्दैनन् । स्थानीय बासिन्दा शान्ति अधिकारी प्रहरीदेखि मदिरा उत्पादन गर्ने महिला बाह्रै महिना त्रसित रहेको बताउँछिन् ।

रोजगारीको सम्भावना नभएपछि परिवार र बालबच्चालाई पढाइ लेखाइका लागि रक्सी बनाउन बाध्य हुनुपरेको उनीहरु बताउँछन् । खानीछाप गाविस–५, भालेबासका महिला साँझको बेला रक्सी पार्ने र रातको समयमा राम्दी क्षेत्रमा बिक्री वितरण गर्न लैजाने गरेको स्थानीय बताउँछन् ।

अधिकारीका अनुसार सरकारले अवैध मदिरा उत्पादन न्यूनीकरणतर्फ ध्यान दिन नसक्दा गाउँमा मदिरा सेवन गरी झगडा गर्ने बढेका छन् । सरकारले मदिरा उत्पादन गर्ने महिलालाई लक्षित गरी विभिन्न आयमूलक तालिम सञ्चालन गर्नुपर्ने उनको धारणा रहेको छ ।

राम्दी प्रहरी चौकीका प्रमुख भेषराज रेग्मी प्रहरीले गाउँ बस्ती स्तरमा पुगेर अवैध घरेलु मदिरा उत्पादन, बिक्री, वितरण कार्य सरकारले निषेध गरेकाले मदिरा उत्पादन रोक्न सचेतना कार्यक्रम सञ्चालन गरेको बताए ।

उनले अवैध घरेलु मदिरा उत्पादन गर्ने महिलाले प्रहरीको नजिकै नपर्ने र सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन नमान्ने गरेको बताउँछन् ।

पटकपटक मदिरा नियन्त्रण गरी कारबाही गरेपनि अवैध मदिरा उत्पादन रोक्न नसकिएको हो । अब घरेलु मदिरा उत्पादन गर्ने महिलालाई वैधानिक रुपमा आयआर्जन गर्ने व्यवसायमा आकर्षण गर्न खोजे पनि ती महिला मदिरा उत्पादन, बिक्री वितरण गर्न नरोकिएकोमा स्थानीय बासिन्दा चिन्तित छन् ।

अवैध घरेलु मदिरा उत्पादन गर्ने कामले महिलाको स्वास्थ्यमा ठूलो असर पर्ने भएकाले यस्तो व्यवसाय नगर्न पटकपटक अनुरोध गरेको स्वास्थ्यकर्मी बताउँछन् । 

गाविस, महिला तथा बालबालिका कार्यालय पाल्पाले विभिन्न अभियान सञ्चालन गरेपनि यहाँका महिलामा अवैध मदिरा उत्पादन कार्य रोकिन सकेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...