पोखरामा शुक्रबारदेखि साहित्य महोत्सव हुदै

  • काठमाडौं, १० माघ ।

बुकवर्म फाउन्डेसनले माघ १४ गते शुक्रबारदेखि पोखरामा आयोजना हुने चारदिने साहित्य महोत्सवको कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार आख्यानकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सवको चार दिनमा तीन दर्जनभन्दा बढी सत्रमा समाजका विभिन्न विषयमाथि बहस हुनेछन् । महोत्सव पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको परिसरमा हुनेछ ।

पोखराको विकासको परिकल्पना,पत्रकारिताको विगतदेखि भविष्यको आकलन, साहित्यमा महिलाको चित्रण,बौद्धिकहरुको खोजी लगायतका विषयमा राजनीतिज्ञ, नीति निर्माता,समाजशास्त्री र साहित्यकारले खुला बहस गर्नेछन् ।

यस पटकको महोत्सवमा भारतका प्रख्यात लेखक उदय प्रकाश पनि हुनेछन् । उनका कथाहरुको नेपाली अनुवाद ‘नेलकटर‘ पनि महोत्सवमै सार्वजनिक हुँदै छ । पुस्तक लोकार्पण र अन्तर्क्रियाको सत्रसहित उनी दुई वटा सत्रमा देखिनेछन् ।

हास्य कलाकार मह जोडीको सांगीतिक प्रस्तुति समेत रहने महोत्सवमा गजल वाचनको छुट्टै सत्र हुनेछ भने अन्तिम दिन सोमबार कविता वाचनसँगै महोत्सवले बिट मार्नेछ । गत वर्ष साहित्य महोत्सवको पाँचौं संस्करण पनि पोखरामै भएको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...