कांग्रेस नेता महतमाथि जनताको आक्रमण, ४७ राउन्ड गोली प्रहार, एक प्रहरीसहित सात घाइते



काठमाडौं, १३ माघ ।

खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतमाथि स्थानीयले आक्रमण गरेका छन। 

पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत आक्रोसित स्थानीयले महतको कार्यक्रम सभामै पुगेर आक्रमणको प्रयास गरेका हुन् । त्यसपछि उत्पन्न  झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। 

झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन्। डा.ब महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए। 

प्रहरीले पहिला लाठीचार्ज गरेको थियो। तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए। तीनजनालाई रबरको गोली लागेको छ। लाठी प्रहारबाट अरू तीनजना घाइते छन्। सशस्त्र प्रहरीका एकजना पनि घाइते भएको प्रहरीले जनाएको छ। रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन्। 

यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन्। जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिका बदर गरिएपछि २ माघबाटै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। 

प्रस्तावित सो गाउँपालिकामा पर्ने खानीगाउँ, थानसिंह, सूर्यमति र चौघडा गाविस ११ दिनदेखि बन्द गरी स्थानीय आन्दोलनमा उत्रिएका छन्। बन्द खुलाउन भन्दै डा. महत जागरणसभा गर्न सो स्थान पुगेका थिए। सय जनाभन्दा बढी सुरक्षाकर्मीका साथ पुगेका डा. महतविरुद्ध चर्को नाराबाजी भएको थियो। कडा सुरक्षा घेरामा डा. महतले सभालाई सम्बोधन गरेका थिए। 

उनले बन्द गरेर स्थानीयलाई दुःख दिन नहुने बताए। पुनर्संरचना आयोगले सरकारलाई बुझाएअनुसार नै सीमांकन हुनुपर्ने उनको भनाइ छ। चारै गाविसका आन्दोलनकारीले गत ७ माघमा विदुरमा जिविसको कार्यालय तोडफोड गरेका थिए। 

जिल्लाको पूर्वी भेगलाई जोड्ने सडक यिनै गाविस हुँदै गएकाले ११ दिनदेखि बन्द हुँदा पूर्वी भेगका स्थानीय समस्यामा परेका छन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...