प्रतिव्यक्ति आठ लाख तिरेर युएई पुगेका एक सय १६ नेपालीले काम पाएनन्

  • काठमाडौं, १३ माघ ।

युएईमा एक सय १६ जना नेपाली कामदार समस्यामा परेका छन् । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा परेका हुन् ।

काठमाडौंमा रहेको एसआरएस म्यानपावर कम्पनीमार्फत उनीहरु युएई आएका थिए । म्यानपावरले ‘सेमी गभर्मेन्ट’ कम्पनीमा मासिक एक लाख रुपैयाँ भन्दा धेरै तलब हुने भनेर पठाएको पीडितहरुले बताएका छन् ।

म्यानपावरले प्रतिव्यक्ति आठ लाख रुपैयाँ लिएर पठाएको र अहिले काम पनि नदिएपछि आफूहरु समस्यामा परेको उनीहरुले बताए । उनीहरु फरक फरक समयमा त्यस कम्पनीमा पुगेका हुन् ।

समस्यामा परेका एक सय १६ जनाले बिहीवार आबुधाबीस्थित नेपाली दूतावासमा पुगेर उजुरी गरेका छन् । ‘यसभन्दा अघि पनि समस्या लिएर आएका थियौं । दूतावासले सहयोग नगरेपछि फेरी आयौं ।’ दैलेखका राजु केसीले भने ।

पीडितहरुको समस्याबारे कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले दुई घण्टा सवाल जवाफ समेत गरे । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पनि उनले बताए ।

कार्यवाहक राजदूत टण्डनले श्रम काउन्सिलर भेष बहादुर कार्कीलाई तत्काल निर्देशन दिएर कम्पनीसँग सम्पर्क गरेर कामदारका समस्याबारे बुझ्न अनुरोध गरेका थिए । काउन्सिलर कार्कीले तत्काल कामदारकै बीचबाट कम्पनीमा टेलिफोन गरेको र कम्पनीले समस्या समाधानका लागि पहल गर्ने बताएको जानकारी दिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...