म्याग्दीका चौध ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

  • म्याग्दी, ५ चैत ।

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् । 

प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका १३ सिङ्गा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका सिङ्गा तातोपानी कुन्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए। 

नेपालमा नै प्रसिद्धि कमाउन सफल तातोपानी कुन्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताए । 

यहाँ बाथ, ग्याष्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्तो कठिन रोग लागेका व्यक्ति डुबेर उपचार गर्नका लागि आउने गरेका छन् । 

त्यसैगरी मुदीको बगर, दरवाङको भाले वास्ने ताल, भुरुङतातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान फेला परेका स्थानीयवासीले बताएका छन् । 

म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मुलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सीयससम्मको तातोपानी निस्कने गर्दछ । 

सिङ्गातातोपानी ,भुरुङतातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोापानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...