जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

  • ललितपुर, ३० चैत ।

जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि यस क्षेत्रका राष्ट्रहरुबीच सहयोग तथा समन्वय गरी सक्षम जलवायु कार्यको खोजी गर्न विज्ञहरुबीच गहन छलफल सुरु भएको छ । 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहको सहकार्यमा जनसङ्ख्या तथा वातावरण मन्त्रालय र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को संयुक्त आयोजनामा मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी वातावरणविद्हरुले जलवायुसम्बन्धी जनचेतना अभिवृद्धि, नीतिनिर्माता र विज्ञहरुबीच ज्ञान, अनुभव आदानप्रदान तथा जलवायु परिवर्तनसम्बन्धी अध्ययनका निष्कर्षबारे छलफल गर्नेछन् । 

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा हिन्दूकुश क्षेत्रमा नेपाल, अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार र पाकिस्तानसहित १५ देशका नीतिनिर्माता, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी र युवा गरी करिब दुई सय जनाको सहभागिता रहेको छ । 

सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूहका अध्यक्ष डा होयसुङ ली, कार्यसमूह पहिलोका सहअध्यक्ष डा पान्माओ जाई, दोस्रो समूहका डा जोय जाक्विलाइन पेरिस र तेस्रो समूहका सहअध्यक्ष डा प्रियादर्शी आर. शुक्लाले समूहमार्फत जलवायु परिवर्तन क्षेत्रमा गरिएका विभिन्न अध्ययन प्रतिवेदनका बारेमा प्रकाश पारेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...