यसकारण सगरमाथामा ट्राफिक जाम भयो

  • सोलुखुम्बु, २ वैशाख ।

सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । 

सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ । 

सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताए । 

सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ । 

विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ ।

पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भने “तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।” अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । 

आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ । 

आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...