भरतपुरमा मतगणनाको माग गर्दै सर्वसाधारण नारावाजीमा, रेणु दाहालका कारण लफडा

  • काठमाडौं ।

दलहरुबीच मुचुल्काका क्रममा कायम गरिएका मतभन्दा बढी भए के गर्ने भन्ने विवाद कायमै रहेकाले भरतपुर महानगरपालिकामा मतगणना सुरु हुन सकेको छैन ।

मतगणनास्थल वरिपरि जम्मा भएका सर्वसाधारणले अहिले छिटो मतगणना गर्नुपर्ने भन्दै नारावाजी जारी राखेका छन् । निर्वाचन कार्यालयले मुचुल्कामा भन्दा बढी मत भए पनि गणना हुनुपर्ने र त्यसक्रममा विवाद गर्न नपाइने भन्ने कुरा उठाएपछि विवाद भएको थियो ।

राजनीतिक दलका प्रतिनिधिले मुचुल्काभन्दा ४, ५ मत बढी भए गणना हुने तर धेरै नै तलमाथि भएको भए स्थगित गर्नुपर्ने बताउँदै आएका छन् ।

अहिलेसम्म पनि सहमति कायम हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।मतपरिणाम सुन्न पुगेका सर्वसाधारण भने अहिले नारावाजीमा उत्रिएका छन् । सर्वदलीय बैठक फेरि भर्खरै सुरु भएको छ ।

महानगरको उम्मेदवार पदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि रेणु दाहाल संयुक्त उम्मेदवार बनेकी थिइन् । नेकपा एमालेले भने देवी ज्ञवालीलाई मेयरमा उठाएको छ ।

कांग्रेस–माओवादी तालमेलपछि कांग्रेसले आफ्ना मेयर उम्मेदवारको नाम फिर्ता लिए पनि मतदानमा मेयर पदमा कांग्रेसको रुख चिह्नमा पनि भोट हालेको पाइएको छ । रुख चिह्नमा खसेको भोटमा माओवादी केन्द्रकी दाहालकाे पक्षमा गणना हुनुपर्ने दाबी गरिएपछि लफडा सुरू भएकाे हाे ।

बिहानदेखि मध्याह्नसम्म चलेको सर्वदलीय बैठकमा माओवादी केन्द्रका जिल्ला नेता घनश्याम दाहालले रुख चिह्नमा खसेको मत रेणु दाहालको पक्षमा गणना हुनुपर्ने माग राखेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...