श्रीमानले दैनिक दुई पटकसम्म यौनसम्बन्ध चाहेपछि…



प्रश्न: मेरा श्रीमान्को ममाथि के आरोप छ भने मैले उहाँसँगको यौनसम्बन्धलाई बुझ्न सकेको छैन । उहाँको भनाइ यौनसम्बन्ध दैनिक र दिनको दुई पटकसम्म हुनुपर्छ भन्ने छ, तर मलाई त्यस्तो विचार मन पर्दैन । 

मलाई त्यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उहाँ मान्नुहुन्न । मैले सहमतिमा हप्ताको एकपटक यौनसम्पर्क गर्ने कुरा गरिसकें, तर उहाँ त्यसरी आफ्नो यौन इच्छा मार्न नसक्ने कुरा गर्नुहुन्छ । हिजोआज उहाँमा चिडचिडाहट पनि देखिन थालेको छ । हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ ? के दैनिक दुई पटक सम्बन्ध राख्नु साधारण हो ?

तपाईंको प्रश्न पढ्दा तपाईं र तपाईंको श्रीमान्को यौनचाहनामा भिन्नता भएको बुझिन्छ । दुवैको यौनइच्छाबीच तादात्म्य नमिलेजस्तो छ, कता–कता सु–संयोजन नभएजस्तो बुझिन्छ । ब्रिटेनमा गरिएको एक राष्ट्रिय सर्वेक्षणअनुसार २७ दशमलव ४ प्रतिशत महिला तथा २३ दशमलव ४ प्रतिशत पुरुषको यौनचाहनामा भिन्नता हुन्छ, तर कहिलेकाहीं पुरुषमा भन्दा महिलामा बढी यौनचाहना भएको पनि पाइएको छ । जब यौनचाहनामा भिन्नता भएको थाहा पाइन्छ एक–अर्कालाई दोष लगाउनुभन्दा पनि त्यस्तो भिन्नता किन आइरहेको छ, पत्ता लगाउनु जरुरी हुन्छ । यसको समाधान दुवै जना मिलेर खोज्नु र दुवैले उपयुक्त समाधानका लागि पहल गर्नु उचित हुन्छ ।

यस्तो हुनुको पछाडि तनाव वा उमेरअनुसार हार्मोनको कमी, नयाँ औषधीको सेवन आदि हुनसक्छ । उच्चस्तरको सन्तुष्टि प्राप्त गर्नेमा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्त्वपूर्ण हुने हुँदा कतै त्यसमा कमी पो आइरहेको छ कि खोज्नु जरुरी छ । जोडीमा अन्य कुनै समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलै समस्या भएका उदाहरण धेरै छन् ।

टेस्टोस्टेरोन हार्मोनका कारण पुरुषले यौनसम्र्पकद्वारा हरेक ७२ घण्टामा वा हरेक तीन दिनमा वीर्य स्खलन गर्न चाहन्छन्, यसको अर्थ हरेक तीन दिनमा यौन इच्छा जागृत हुनु स्वभाविक हो । महिलामा पनि तीव्र यौन इच्छा हुन्छ । धेरैले महिनावारी सुरु हुन लागेको समयमा त्यस्तो इच्छा जागृत हुने बताएका छन्, केहीले महिनावारी भएको केही समयपछि । यदि उक्त समयमा आफ्नो यौन साथीले यौनसम्पर्क गर्न नमानेको खण्डमा महिलालाई धोका दिएजस्तो महसुस हुन्छ र कहिलेकाहीं पार्टनरमाथि नै शंका गर्छन् । हुनसक्छ, तपाईंले पनि यस्तो अनुभूति गर्नुभएको छ । आफूमा यौनचाहना भएको समयमा यौन साथीले समन्वय नगर्दा जस्तो अनुभूति हुन्छ त्यस्तै अनुभूति पुरुषलाई पनि हुन्छ ।

हरेक व्यक्तिको यौनइच्छा फरक–फरक हुन्छ, दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन्, एक–अर्काको यौन इच्छाको फरकपनलाई कसरी एउटै बनाउने त्यो चाहिँ महत्वपूर्ण कुरा हो ।
प्रश्न पढ्दा तपाईंहरूबीचको यौन प्रवृत्तिमा फरकपन आएजस्तो बुझिन्छ, जसलाई थप अप्ठ्यारोमा पुग्न नदिन तपाईंहरूले आफ्नो यौन इच्छा वा दैनिक जीवनका बारेमा आपसमा कुरा गर्नु जरुरी छ ।

तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ भने त्यो पनि प्रस्ट हुन जरुरी हुन्छ । तपाईंको प्रश्न पढ्दा एक–अर्काप्रतिको सम्मानमा कमी आएको पनि बुझिन्छ । एक–अर्काप्रतिको आकर्षणमा कमी भएको पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका थुप्रै स्रोत हुन सक्छन् । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ । एक–अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छन् र तपाईंको सम्बन्ध थप जटिल बन्दै जान्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ । साप्ताहिकबाट ।

प्रतिकृया दिनुहोस्

Loading...