मतपत्र च्यातिएपछि मध्यरातमा रचियो यस्तो रोचक कविता


पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भइ देशैभरीको मतपरिणाम आइरहेको बेला भरतपुरमा मध्यराति जब मतपत्र च्यातियो । 

मतपत्र च्यातिएपछि राजनीतिक दलहरु एकले अर्कालाई अनेक आरोप प्रत्यारोप लगाएका छन् । 

अनेक शंका उपशंकाकाबीच त्यस लगत्तै पत्रकार प्रकाश सिलवालले 'च्यातिएका कागजहरुको नाममा' एउटा यस्तो रोचक कविता लेखे । 

च्यात !धूजा धूजा पारेर च्यात !

यस्तो होस् कि

त्यस्को कुनै दसी प्रमाण फेला नपरोस्

हेर्नुहोस् पुरै कविता
प्रकाश सिलवाल ।

च्यात !
धूजा धूजा पारेर च्यात !
यस्तो होस् कि
त्यस्को कुनै दसी प्रमाण फेला नपरोस्
केवल तिम्रो बहादुरीको तस्विर 
सहरभरी फैलियोस् !

तिम्रो त्यो साहस !
इतिहासको कुन्युमा पुगेर
सजिलै बास बस्न सकोस् !

टुक्राटुक्रा पारिएको कागजको धूलोलाई 
चपाएर निलिदेऊ
र,
छेउमा छडी बोकेको 
प्रहरीलाई भन्न लगाऊ
च्यातिएको कागजमा
मलाई शासन गर्ने महान् अख्तियारी थियो
मेरो जनतन्त्रको छलाङ्को छायाँ थियो
त्यसैले अहिले भर्खरै म विजयी भएँ !
मलाई माला लगाऊ
तुरुन्त, रथ र अविरयात्राको तयारी गर ।
नत्र,
फेरि च्यातिदिनेछु
तिमीहरुको मन
र, जलाउनेछु त्यसलाई नारायणीको किनारमा
उखेलिदिन्छु तिम्रा आँखा
ताकि
तिमीले कहिल्यै देख्ने छैनौ
कस्ले च्यातेको थियो
ती स्वस्तिक छापे कागजहरु !
(२०७४ वैशाख १४ गते मध्यरात ।)


प्रतिकृया दिनुहोस्

Loading...