कम्युनिष्ट पार्टीका सेक्रेटरी कञ्चनपुरबाट गिरफ्तार, प्रहरी भन्छ - अरु पनि लिस्टमा छन्


कञ्चनपुर, दिया चन्द ।

नेपाल कम्युनिष्ट पार्टीका कञ्चनपुर जिल्ला सेक्रेटरी अर्जुन दयाललाई प्रहरीले गिरफ्तार गरेको छ । बिहिबार सादा पोशाकमा सुडास्थित घरमै पुगेको प्रहरीले दयाललाई बिना पूर्जी पक्राउ गरेको सो पार्टीले इमान्दार मिडियालाई बतायो । 

आफ्नै गाउमा स्थानीय दलित सामुदायको घर निर्माण गरिरहेका बेला एकाएक सादा पोशाकमा आएको प्रहरीले दयाललाई बिना कारण पक्राउ गरेकाे नेकपा कञ्चनपुरका इन्चार्ज अग्निले विज्ञप्तिमार्फत बताएका छन् । 

' हाम्रा पार्टी कञ्चनपुरका सचिव क. अर्जुनलाई बिना कारण, पक्राउ पूर्जीबिना सादा पोशाकमा आएका प्रहरी समूहले स्थानीय दलित सामुदायको घर निर्माण गरिरहेका बेला गिरफ्तार गरेको छ । बिना कारण गिरफ्तार गरेको कारण के हुनसक्छ ? यो सरासर स्थानीय सरकारको दादागिरी हो ।' इन्चार्ज अग्निले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनले आफ्ना नेतालाई तत्काल रिहा गर्न माग गर्दै प्रशासनले यसरि नेता कार्यकर्ता पक्राउ गर्नु भनेको अमानवीय र घृणित कार्य हो भनेका छन् । 

बिना कारण गिरफ्तार गरिएका सेक्रेटरी दयाललाई तत्काल रिहा नगरिए कडा रुपमा त्यसको प्रतिवाद गर्ने उक्त विज्ञप्तिमा उल्लेख छ । 

प्रहरी भन्छ - अरु पनि लिस्टमा छन् 

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने गत बैसाख ३१ मा नेकपाले गरेको नेपालबन्दका क्रममा एउटा गाडीमाथि तोडफोड र आगजनी गरेको मुद्दा दर्ता भएको कारण उनलाई पक्राउ गरिएको जनाएको छ ।

'नेपाल बन्दका क्रममा उहाँसहितको टिमले एक गाडीमा तोडफोड र आगजनी गरेको मुद्दा दर्ता भएको छ । त्यहि केशमा उहाँलाई गिरफ्तार गरिएको हो । ' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी भिम दाहालले इमान्दार मिडियासँग भने । 

डिएसपी दाहालले दयालसहित थप केहीको नाममा समेत मुद्दा दर्ता भएको भन्दै अन्यको खोजीकार्य भइरहेको पनि बताए । 

हेर्नुहोस् कम्युनिष्ट पार्टीको विज्ञप्ति

२०७४ जेठ ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...