पुणेलाई १ रनले पराजित गर्दै मुम्बई बन्यो आइपीएल च्याम्पियन

  • हैदरावाद । 
इन्डियन प्रिमियर लिग (आइपीएल) को १० औं शृंखला मुम्बई इन्डियन्सले कब्जा गरेको छ ।

आइतबार राति हैदरवादमा भएको फाइनल म्याचमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै उपाधि हात पारेको हो । मुम्बईले आइपीएल उपाधि हात पारेको यो तेस्रो पटक हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले गतिलो शुरुवात गर्न सकेन । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मुम्बईले १२९ रनमात्र बनाउन सक्यो ।

मुम्बईका लागि कुणाल पाण्ड्याले सर्वाधिक ४७ रन बनाए भने रोहित शर्माले २४, मिचेल जोन्सनले १३, अम्बाती रायडुले १२ र हार्दिक पाण्ड्याले १० रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।

पुणेका लागि जयदेव उन्डाकट, एडम जाम्पा र डानियल क्रिस्टियनले दुई–दुई विकेट लिए ।

१ सय ३० रनको सामान्य विजय लक्ष्य पाएको पुणेले प्रारम्भिक ब्याट्सम्यान राहुललाई चाँडै गुमाए पनि अजिन्य रहाणे र स्टेभन स्मिथले सम्हालिएर ब्याटिङ गर्दै स्कोर बोर्डमा दबाब पर्न दिएनन् । 

रहाणेले ४४ र स्मिथले ५१ रन बनाए । तर त्यसपछि पुणेका लागि महेन्द्र सिंह धोनीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

पुणेलाई अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक थियो । मुम्बईका लागि मिचेल जोन्सनले बलिङको जिम्मेवारी सम्हालेका थिए । पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गरेपछि मुम्बई झन दबाबमा आएको थियो ।

तर अनुभवी बलर जोन्सनले दोस्रो बल मै तिवारीलाई पवेलियन फर्काइदिए । रोमाञ्चक बनिरहेको खेलमा तेस्रो बलमै जोन्सनले क्रिजमा निकै जमिसकेका ब्याट्सम्यान स्मिथलाई पनि आउट गरे । 

चौथो बलमा केवल एक रन बन्यो भने पाँचौं बलमा दुई रनमात्र बन्न सक्यो । अन्तिम बलमा जितका लागि चौका आवश्यक थियो । तर त्यो बलमा पनि दुई रनमात्र बन्न सक्यो ।

२०७४ जेठ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...