सेती आयोजनाको ३२ करोड मुआब्जा वितरण


काठमाडौँ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ ।

आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्जमध्ये हालसम्म रु ३२ करोड मुआब्जा वितरण गरिएको हो । 

मङ्गलबार र आज गरी थप रु ११ करोड मुआब्जा वितरण भएपछि घरधुरी र डुबान क्षेत्र प्रभावितको आधारमा समेत ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण भएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले राससलाई जानकारी दिए । यसअघि रु २१ करोड मुआब्जा वितरण भइसकेको छ । 

कुल १४० मेगावाट क्षमताको सो आयोजनाको जलाशयबाट डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफूल तथा रुख बिरुवाको क्षतिपूर्ति वितरण गरिएको आयोजनाले जनाएको छ । 

आयोजनाले गत फागुन ५बाट मुआब्जा वितरण सुरु गरेको थियो । सरकारले चालु आर्थिक वर्षमा मुआब्जा वितरणका लागि रु ४२ करोड विनियोजन गरेको छ । 

डुबान क्षेत्रमा पर्ने करिब एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । यसका लागि करिब रु ६० करोड लाग्ने अनुमान गरिएको छ । आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ रानीपोखरी, साभुङ भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन् । 

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ । आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज, प्रशारण लाइन निर्माण र ग्रामीण विद्युतीकरण सहितको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...