दरबारथोक एडभरटाइजिङ विधिवत सञ्चालनमा

  • पोखरा ।
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको दरबारथोक एडभरटाइजिङ एजेन्सीको बिहीबार एक समारोहका बीच विधिवत उद्घाटन गरिएको छ ।

एजेन्सीको कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्व सहायक निर्देशक दुर्गाबहादुर शाह बाबाले उद्घाटन गरे । प्रमुख अतिथि शाहले पछिल्लो प्रविधिको युगमा विज्ञापन एजेन्सीको भूमिका महत्वपूर्ण रहने बताए ।

कुनै पनि प्रतिष्ठान सफल हुनका लागि त्यसले प्रदान गर्ने सेवा सुविधा र सञ्चालकको व्यवहारमा भर पर्ने उल्लेख गर्दै प्रमुख अतिथि शाहले एजेन्सीका सञ्चालक कृष्ण रानाभाटको हसिलो मुहार र फरासिलो व्यवहारले व्यापारले जीवनमा छिट्टै उज्यालो भित्र्याउने अपेक्षा व्यक्त गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लामो समयको अनुभवपछि आफ्नै एडभरटाइजिङ एजेन्सी सञ्चालन गरेकाले मोफसलका सम्पूर्ण व्यवसायी प्रतिष्ठानलाई महत्वपूर्ण टेवा पुग्ने बताए ।

अध्यक्ष बास्तोलाले २०५४ सालदेखि आदर्श समाज पत्रिकामा काम गरेको स्मरण गर्दै विषयगत ज्ञानको व्यवसाय सञ्चालन गर्दा कहिल्यै पछुताउन नपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ डाक्टर कालु शर्मा, सप्तरंगी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नवराज बराल, पत्रकार गुप्तप्रसाद शर्मा, चण्डिका आमा समूहका सचिव विमला रानाभाटलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्षको आसनबाट बोल्दै एजेन्सीका सञ्चालक कृष्ण रानाभाटले केही समय अगाडिदेखि व्यवसाय सञ्चालन गर्दै आए तापनि उचित ठाउँको अभावका कारण विधिवत शुभारम्भमा ढिलाई हुन पुगेको बताउँदै सम्पूर्ण शुभचिन्तकको शुभ भावनाले व्यवसाय सञ्चालनमा प्रेरणा मिलेको बताए ।

बुद्धिबहादुर रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन असफल गौतमले गरेका थिए ।

२०७४ असार १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...