एमालेको आक्रमणबाट काँग्रेस कार्यकर्ता गम्भीर घाइते

  • खोटाङ । 
चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । 

दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन् । 

घाइते भएका राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घाइते राउतको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । 

राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रनाउ प्रधानले बताए । 

यता, आफ्ना कार्यकर्तामाथि निर्घात कुटपिट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । एमालेले गलत मनासायबाट कुटपिट गरेको भन्दै काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाले आपत्ति जनाउँदै आज विरोध जुलुस निकालेको छ । 

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा काँग्रेस र एमालेबीच विवाद भएको थियो ।

२०७४ जेठ २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...