झुपडीदेखि जनकलाकार हुँदै राष्ट्रिय कलाकारसम्म यस्तो छ रमणको सांगीतिक यात्रा


साधारण जिबन शैली त्यत्तिकै बिनम्र आफुलाई जहिले पनि अपूर्ण नै ठान्ने कलाकारको परम्परागत रोग हो । कलाकारहरु कहिलै पनि आफुलाई पूर्ण ठान्दैनन् ।

त्यस्तै घमण्डले रमणलाई पनि कहिलै छोएको छैन। हेर्दा अपत्यारिलो तर कलात्मक क्षमता अभूतपूर्ण रहेका रमण थामीको जन्म दोलखा जिल्ला लापिलाङ्ग गाविस हालको कालिन्चोक गाउँ पालिका वाड नंवर ६ मा २०४२ साल साउन १४ गत्ते बाबा अहिमान थामी र आमा रहरमाया थामीको कोखबाट भएको हो। 

सानैदेखी संगितप्रति निक्कै रुचि रहेकाले रमण गाउँमै रहँदा क्लबहरू स्कूलहरुमा नृत्य र गायनमा सहभागी भएर विभिन्न कार्यक्रममा भाग लिई रहन्थ्ये। गाउँ टोल स्कुलहरुमा अन्तर समूह,अन्तर स्कूल स्तरिय कार्यक्रमहरुमा जहिले प्रथम स्थान हात पार्थे। 

मिजासिलो स्वभाव परोपकारी मन भएका थामी सबैका आत्मिय र प्रिय पात्र थिए। उमेर बढ्दै गर्दा देशको राजनीतिक परिस्थिति पनि नयाँ चरणमा पुगिरहेको थियो।

गाउँ, बस्ती, टोल, छिमेकी सबैतिर नयाँ राजनीति जग बस्दै थियो त्यहि प्रभाव बालापनबाट युवावस्थामा लम्किदै गरेको जोशिलो यूवाको दिमागमा नपर्ने कुरै थिएन।

रमणको जन कलाकारिता यात्रा

रमण त्यहि जल्दोबल्दो राजनीति प्रभावका कारण बाल क्लबमा आबद्ध हुदै २०५७ साल जेष्ठ ५ गते माओवादी आन्दोलनमा समाहित भए। आन्दोलनको आबस्यकतालाई सधै आत्मासात गर्ने थामीले तत्कालीन बेला आफ्नो ब्यक्तिगत ईच्छा जनमुक्ति सेना भएर दुश्मनसॅग लड्ने रहेको बताए।

रुची सेना बन्ने भएपनि सानैदेखि संगितप्रति लगाप भएका कारण जनयुद्धमा पनि सांगितिक मोर्चाको उत्तिकै भुमिका हुने भएकाले उनको दक्षता सांगीतिक फाँटमा नै देखियो र जनकलाकार टिममा राखियो त्यो उनको भुमिगत जिबनपछीको पहिलो संगठित टिम हो ।

जसको नाम गौरीशंकर जनसांस्कृतिक परिवार रहेको थियो। संगित यात्राको थालनी पश्चात नृत्य बिधावाट सुरु भएको उनको कलाकारिताको यात्रा पछि आएर गायन क्षेत्रमा परिणत भयो। 

स्वरका खानी तर नखुल्ने बानी

रमणले नृत्य बिधाबाट आफ्नो सास्कृतिक यात्रा प्रारम्भ गरेपनि प्रकृतिले दिएको बरदानले उछिन्यो र गायन विधालाई स्थापित गर्दै आफ्नो समधुर स्वरलाई परिमार्जन परिस्कृत गर्दै हाल निकै आशा र सम्भावनाको मझेरीमा उभिएका छन। 

जनयुद्धको बिकास क्रमसॅगै जिल्ला स्तरीय गौरिसंकर जनसाॅस्कृतिक टिममा रहेका रमणले क्षेत्रिय सैलुङ्ग जनसांस्कृतिक टिममा बढुवा भए। पछी उपत्यकामा रहेको शेनच्याङ्ग जन सांस्कृतिक परिवारमा रहेर काम गरे। 

सांगठानिक रुपमा साॅस्कृतिक कम्पनी निर्माणपछी प्लाटुन कमाण्डर हुँदै कम्पनी सहायक कमाण्डरसम्म भएका रमणले आफ्नो नेतृत्वदायी भुमिकालाई पनि कुशलतापूर्वक बहन गरेका छन्। 

जनयुद्धको क्रममा शाहीसेनासॅग जम्काभेट

कार्यक्रम गर्दागर्दै शाही सेनाको घेराबन्दी गरी सेल्टरहरुमा छापा मारेको घटना सम्झिदै रमण भन्छन। "गित गाउँदागाउँदै भागियो,खाना खाँदा खाँदै थालै छोडेर दौडियो,आफ्नै छेउमा उभिएको साथीलाई गुमाएर कसरी बाॅचियो अचम्म लाग्छ अचेल आफैले भोगेको भोगाई पनि अहिले जस्तो लाग्छ।" 

जनयुद्धका बेला स्टेजमामा प्रत्यक्ष प्रत्यक्ष प्रस्तुति मार्फत सयौं जनबादी गित गाएर पार्टी मै चर्चा बटुलेका गायक थामीले २०६२/६३को जनआन्दोलनमा पनि चोक चोकमा जनबादी गितहरु गायर आन्दोलनकारीलाई उर्जाशील बनाउन उत्तिकै भुमिका निर्वाह गरेका थिए।

शान्ती प्रकृयापछिको सांगीतिक यात्रा

शान्ति प्रक्रियाको थालनीपछी सेनच्याङ्ग जनसाॅस्कृतिक परिवारको पहिलो एल्बममा कम्युनिस्ट क्रान्तिकारीहरुको प्रेम र बिबाहमा आधारित क.छिन्ताङको रचना,चन्द्र अधिकारीको संगित,रमण थामी र निर्मला घिर्सिङ्गको यूगल आवाजमा:-

तिमी झन आगो बन्नु लक्ष्य नै पुग्दै म ढलेछु भने
तिमी झन चट्टान बन्नु बाचको पन्जामा परेछु भने

संसार बदल्ने यो महान यात्रा भुलेर घात गरेछु भने
जन्ताको बिचमा खाएको कसम तोडेर ज्यूदै मरेछु भने

तिमी झन शाहसी बड्नु शहीदको रगत सम्झेर अनी
तिमी झन भेल तर्नु लाखौं चुनौति शहेर पनि

साथै रहन्छौ तब सम्म हामी जब सम्म यो आस्था ज्यूँदो रहन्छ
छोडिन्छौ फुटेको ऐना सरी जुन पल कुनै एकले बाटो बिताउँछ

तिमी एक मनले अघि बढ्नु यो आस्था मैले बिराए भने
तिमी झन शिखर चढ्नु मैले यो यूगको भारी बिसाए भने।

पहिलोपटक डिजिटल स्टुडियोको माईक्रोफोनमा यो गित निर्मलासँगै गाए। यो गित क्रान्तिकारी आन्दोलनमा यति चर्चाको चुलिमा पुग्यो कि देश बिदेश देखि मुक्ति योद्धाकोहरुका जनवादी बिबाहमा यहि गित घन्किन्थ्यो र बिबाहको बेला शुभकामना तथा प्रतिबद्धताको रुपमा यो  गीत बजाईन्थ्यो। एक समय यो गीत प्रत्येकको मुखमा झुण्डिएको थियो। 

रमणले सयौ गितहरु गाउदै बस्ति, टोल, चोक, बजार, देशका शहरदेखि छिमेकी देश भारतसम्म हुने कार्यक्रममा धेरै पटक सहभागी भएर आफ्नो गायन क्षमतालाई जन समक्ष प्रस्तुत गरेका छन।

बिशेषतः जनबादी आन्दोलनबाट कलाकारितामा प्रवेश गरेका थामीले जन्तालाई संगठित गर्न देशलाई परिबर्तनको मार्गमा डोर्याउन आफ्नो कला खर्चिएको देखिन्छ।

दुइ लाइन संघर्ष र रमणको राजनीतिक यात्रा

प्रसोता: स्वर्णिम शाही
माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी भित्र दुईलाइन संघर्ष चल्यो अन्ततः पार्टी बिभाजन पुगेपछि बैध्य नेतृत्वको नेकपा- माओवादीमा लागेर केन्द्रीय टोली सामानमा रहे देशका बिभिन्न भुभागमा जनसंगित मार्फत आफ्नो कलालाई जनसेवा मै खर्चिए।

पछि पुनः बैध्य र बिप्लव बिचमा पनि बिभाजन आएपछी बिप्लव तिर लागेको बताउँछन् ।

क्रान्तिको एजेन्डा अझै बाँकी छन पुरा भएका छैनन् यस पार्टीले पुरा गर्छ भन्ने बिश्वासले यता लागेको बताउछन। उनि भन्छन । "म पार्टीमा पूर्णकालीन छैन समर्थक जस्तो मात्र भएको छु किनकी मेरो बसाई काठमाण्डौंमा भएकाले बस्न उठ्न र हिड्नै गार्हो छ त्यसैले आफ्नो कलालाई व्यसायिक्तामा बदल्नु पर्ने बाध्यता रहेको छ।" 

यी हुन् रमणले गायका जनवादी गीतहरु

राजु लामाको शब्द सरगम थपलियाको संगीतमा "आँशुको घुट्का पिउदै", माईला लामाको शब्द संगीतमा "अर्को अभियान सुरु हुदैछ", भरत लामाको शब्द संगीतमा "को बन्छ तिमी मर्यो भने" "रुनु हुन्न जुनेली दिदी", खुशिराम पाख्रिनको तामाङ्ग सेलो "ताम ड्यानो ताम ड्यानो" त्यस्तै बिभिन्न कलाकारहरु रचना संगितमा रहेका गितहरु "देशको माया", "कम्युनिस्ट ", "आउ प्रिय शान्ति तिमी", "तामाकोशीको तिरै तिर", " दियो जस्तै बल्थ्यो", "देश सम्झेर", "आउछन् यादहरु", " हाम्रो आस्थाको शिखर", "साथ देउ", "नयाँ नेपाल", "हाम्री आमा, होशियार दलालहरु", "यूबाहरु हो", "जालमा पारी ति दुष्टले" आदी सयौ जनबादी गितहरुमा स्वर दिएको त्यस्तै लेखक तथा साहित्यकार कृष्ण केसी, कुशल बोगटी, लोकेश बिश्वकर्मा र स्वर्णिम शाहीका गितहरुमा समेत रमणले आफ्नो आवाज दिएका छन्। 

आफै गित लेख्ने संगीत भर्ने र आफै गाउने रमणको अर्को बिशेषता हो । शास्त्रीय रुपमा संगीतको पाठ सरगम थपलिया बाट सुरु गरेर भरत लामा, चन्द्र अधिकारी, अर्जुन पोखरेल, गुरुदेव कामद, डा.किरात सम्मका संगित गुरुहरुबाट संगित शिक्षा लिएको रमणले बताए । 

भरत लामाबाट लामो समय गित संगित र शास्त्रीय गायन सम्बन्धमा ज्ञान पाएको बताउने रमण भन्छन् "मेरो प्रगतिमा भरत सरको अब्बल भुमिका रहेको छ । जनबादी आन्दोलनमा लागेर धेरै सिक्ने,बुझ्ने र आफै बदलिने अबसर पाएकोमा खुसी नै छु। तर देशकै सेवा गर्दा गर्दै आफु कंगाल भएको पनि पत्तै भएनछ।" 

आफ्ना केही सहयात्री अभिजात बर्गमा बदलिए

हेर्दा हेर्दै आफ्नै सहपाठी साथीभाइको जिबन शैली फेरिएको देखी उनि निकै दुखी छन् । आफ्ना केही सहयात्री अभिजात बर्गमा बदलिएपनि आफुले जानेको सिकेको ज्ञान सधैं देशकै लागि मात्र खर्चिएकोले व्यक्तिगत जीवन निकै कष्टकर रहेको रमणको अनुभूति छ ।

आफ्नो गायन बिधालाई व्यवसायिकतामा ढाल्नु अहिलेको अब्यस्यक्ता भएकोले ब्याबसायिक कलाकारिता क्षेत्रमा आफुले हात हालेको रमणको भनाइ छ । 

त्यसैले पछिल्लो चरणमा रमणले "गंगा तालपानि", "जुन देख्यो जुनै राम्रो", "अन्तै माया", "बैगुनीले छोडेपछी" "हृदयमा टासिएको" जस्ता गित रेकर्ड गराएका छन् । रमण भन्छन् "यी गीतहरुले राम्रो बजार लिईरहेको छ। अझै बिभिन्न गितकै तयारीमा छु त्यस्तै दशैं तिहार बिशेष गित पनि गाएको छु "आयो दशै" यो गितले धेरै बजार पायो यूटुबमा पनि राम्रो भिजिटर बढेको छ।" 

फिल्मी गीतमा पनि अफर

रमणले भने "अब त फिल्मी गितहरुमा पनि अफर आईरहेको छ । समय मिलाएर त्यसमा पनि स्वर दिनेछु। गित संगित गरेर पनि आफ्नो जिबन जिउन सकिन्छ भन्ने आत्मविश्वास पाइसकेको छु। यो स्थानमा पुर्याउन मेरा गाउँका सिनियर दाईहरुको र आमा बाबाको भुमिका पनि उत्तिकै रहेकाले उहाँलाई कहिल्यै बिर्सिने छैन ।" 

रमण भित्र इमान्दारिता, लगनशिलता, मेहनत र प्रकृतिले दिएको सुमधुर गला छ। त्यसैले एक दिन राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने कलाकार भनेर चिनिने कुरामा कुनै संका छैन। 

उनको स्वर सुनेपछि उनिबाट प्रभावित नहुने मान्छे नै छैनन्। भन्न पनि मिल्छ । उनले लेखेको गित र संगित सुनेपछी मख्ख नहुने पात्र नै छैन, उनको ब्यबहार देखि पछी समिप नहुने ब्यक्ति नै छैन भन्दा पनि अतिउक्ति नहोला । यि सबै बहु गुणका धनी रमण थामी निपत्यमा होईन रियल लाईफमा करौडौ दर्शक र जनताको माझमा निकट भविष्यमै स्थापित हुनेछन् । 

उनि एउटा सामान्य नागरिक होइनन् बिशेष क्षमताले भरिपूर्ण देशकै लागी चाहिने ब्यक्तित्व हुन। आगामी यात्रा घिसेपिठे र मात्रात्मक होइन गुणात्मक छलाङ्गमा एक सुपर हिट कलाकार भएर उभिने छन। पूर्ण आशा गरौ । 

२०७४ जेठ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...