अपडेट : कर्णाली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो, ४ को सनाखत (नामसहित)

  • कालिकोट ।
कर्णाली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । त्यसमध्ये ४ जनाको सनाखत भएको छ । 

सनाखत हुनेहरुमा अछामको पञ्चदेवल नगरपालिका ९ का ३१ वर्षका सिंह नेपाली, उनकी १० वर्षकी छोरी रुपा नेपाली, अछाम भैरवस्थान गाउँपालिका स्थायी घर भई दैलेखको आठबिसकोट नगरपालिका पशुसेवा केन्द्रमा कार्यरत कृषि प्राविधिक धीरेन्द्र बिसी र कालिकोट रासकोट नगरपालिका ४ का ४० वर्षका युवराज शाहीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सातजना मृतकको परिचय खुल्न सकेको छैन। १८ जना घाइते भएका छन्।

कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको खिडकीज्युला र राकम बीचमा कर्णाली नदीमा खसेको हो। बुधबार दिउसो करिब ३ बजे कर्णाली नदीमा खसेको बसमा १५ जनाले मात्रै टिकट काटेका थिए। तर बाटोमा अन्य यात्रुहरु थपिँदा बसमा सवार यात्रुहरुको संख्या बढेको प्रहरीले जनाएको छ। बस नदीमा डुबेको छ। 

अहिले उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिए।

,

प्रतिकृया दिनुहोस्

Loading...