फेसबुकले जुराईदिएको मेरो यौवनको प्रेमकथा



काठमाडौं ।

मेरो प्रेम सम्बन्ध अनपेक्षित रुपमा भर्खरै टुटेको थियो। त्यही पीडा भुलाउन म नयाँ बाहानाको खोजीमा थिएँ। घरमा बस्न फिटिक्कै मन लाग्थेन। मन हलुका पार्न आफन्तकहाँ चहार्न जान्थेँ।

यतिन्जेल मैले आफ्नो पहिलो फेसबुक अकाउन्ट डियाक्टिभेट गरिसकेकी थिएँ। मलाई आफ्नो नामबाट फेसबुक चलाउने इच्छा थिएन। र, नाता पर्ने दाइले दिव्या थापा नाममा दोस्रो एकाउन्ट खोलिदिए।

पहिलोपल्ट खोलेको फेसबुक मेरो नामको मात्र थियो। निगरानी अरु कसैले राख्थ्यो। सुरुमा म यसलाई सामान्य रुपमा लिन्थेँ। तर जब सम्बन्धका धागाहरु कमजोर हुँदै गए, तब स–साना कुरामा पनि तिता लाग्न थाले। सम्बन्ध बिग्रनुको कारण एउटा थियो तर कमजोर धागोलाई चुँडाउन फेसबुकले झन् बल पु¥यायो। धागो चुँडिएपछि जसरी एउटा धागो दुई दिशामा बाँडिन्छन्, त्यसरी नै हामी दुईतिर बाँडियौं।

दोस्रो एकाउन्ट खोलेपछि उसरी नै भर्रर ‘फ्रेन्ड रिक्वेस्ट’ आउन थाले। तर यो पटक त मेरो वास्तविक परिचय थिएन। त्यसैले अलि ढुक्क पनि थिएँ। कतिले त्यसलाई फेक माने होलान्, कतिले सही। म जोसँग नियमित कुरा गर्थेँ, मलाई लाग्थ्यो, त्यो मान्छेले पक्कै फेक सोचेको छैन।

घरमा वाइफाइ थिएन। न मेरो साथमा राम्रो मोबाइल नै थियो। फेसबुक चलाउनकै लागि भाइले इन्टरनेट चल्ने नोकियाको सामान्य मोबाइल सेट दिएको थियो। म बरु खाजा खान्नथेँ, फेसबुक चलाउँथेँ। पाहुना आउँदा गाजल किन भनेर दिएको पैसा मोबाइल रिचार्जमा रंगिन्थ्यो। फेसबुक मेरा लागि रमाउने गतिलो बहाना थियो। आमा भन्नुहुन्थ्यो, ‘हामीले हसाउन नसकेको यो केटीलाई फेसबुकले खुब हसाउँछ।’

यसो–उसो म फेसबुकको रंगिन दुनियाँमा रत्तिन थालिसकेछु। धमाधम आउने फ्रेन्ड रिक्वेस्टहरु एसेप्ट हुन थालिसकेका थिए। यहीबीचमा ‘क्युट’ लाग्ने फोटोलाई प्रोफाइल पिक्चर बनाइसकेकी थिएँ। फोटोमा मेरो अनुहारको आधा भाग मात्र देखिन्थ्यो। फोटोमा आएका लाइक देख्दा म यसै फुर्किन्थेँ, ‘कसैलाई लठ्ठ पार्न पुरा शरिर नै देखाउन कहाँ जरुरी हुँदो रहेछ र!’

त्यही आधा अनुहार हेरेर कसैले फ्रेन्ड रिक्वेस्ट पठायो। टाइमलाइन हेरेँ। उसको तस्विरमा देखिएको आँखा, ओठ, कान, नाक, केश सबैतिर नजर डुलाएँ र अनुमान लगाएँ, मान्छे ठिटो छ र भलाद्मी पनि। हुन त आवरण हेरेर मान्छेको आनीबानीका बारेमा अनुमान गर्न कहाँ सकिन्छ र?

तर, तुरुन्तै रिक्वेस्ट एसेप्ट गरिनँ।

छटपटियोस् न केटो!

भोलिपल्ट एसेप्ट गर्नेबित्तिकै म्यासेज ग¥यो, ‘तिम्रा आँखा साह्रै सुन्दर छन्।’

यस्ता म्यासेज मेरा लागि नौला थिएनन्। आधा अनुहार देखिने फोटो मुनि यस्ता कमेन्ट नै धेरै हुन्थे। लामो कोस तानेर गाजल लगाउने मेरो पुरानो बानी। गाजल पोतिएका मेरा आँखालाई कसैले मृगनयनी भन्थे त कसैले मिनाक्षी। यो त सब भन्ने कुरा न हो …! सट्टा म भन्ने गर्थेँ, यो त सिर्फ हेराइको कुरा न हो …!

उत्तरमा मैले उसलाई धन्यवाद लेखी पठाएँ। कुराकानीको क्रम सुरु भयो। पहिलो च्याटमा नै परिवारका सदस्यदेखि, व्यक्तिगत रुचि, पढाइ र प्रेम सम्बन्धसम्मका कुरा भए। उसले गर्लफ्रेन्ड छैन भन्यो, मैले पत्याइन। मैले ब्वाइफ्रेन्ड छैन भनेँ, उसले पत्याएन।

गफ गर्न कुनै बहाना चाहिँदैन तर, लम्बिन ‘ट्युनिङ’ मिल्नुपर्छ। ऊसँग मेरो ट्युनिङ मिल्न गयो। दिनैपिछे हाम्रा कुराहरु साटिन थाले। हामीलाई एक–अर्काको बानी पर्न थाल्यो। फेसबुकको प्रविधिले ऊ एकैछिन अघि मात्र अनलाइन आएको जनाउ दिँदा मात्र पनि मन चसक्क हुन्थ्यो। लाग्थ्यो, हत्तेरी किन ढिलो गरेछु! वर्षादीमा कसैको छाता पर्खेर बसेको मान्छेजस्तो हामी एकअर्कालाई कुरेर बस्थ्यौँ। 

खै कता कता अपुरो भएजस्तो। ऊ अफलाइन हुँदा म अनलाइन, म अनलाइन हुँदा ऊ अफलाइन हुन थालेपछि हामीले नयाँ उपाय निकाल्यौं, मिसकल गर्ने। कि म उसलाइ मिसकल गर्थें कि ऊ मलाई। अनि हामी गफिन थाल्थ्यौँ। डिजिटल संसारमा हामी यसरी लिप्त भइसकेका थियौँ, जसबाट निस्कन सम्भव थिएन। घण्टौं कुरा गर्दा पनि कुरा सकिँदैनथ्यो। ऊभित्र पनि र म भित्र पनि प्रसंगका भण्डारहरु थिए। एउटा टपिक सकिनेबित्तिकै अर्कोतर्फ छलाङ माथ्र्यौं। हाम्रा हात चलिरहेका हुन्थे र मन छमछमी नाच्थें।


कोठाको एउटा कुनामा भकारी, अर्को कुनामा देउताको आसन, अर्कोमा किताबको ठेली र त्यहीँ एउटा भित्तोमा भने मेरो खाट थियो। पुषको जाडो होस् या वैशाखको गर्मी, सिरकलाई मैले आफुबाट कहिल्यै टाढा राखिन। त्यो सिरक आमाको आँखा छल्ने माध्यम थियो। मोबाइलको उज्यालो बाहिर निस्केला भनेर म खुब सचेत हुन्थेँ। सुरुसुरुमा निस्सासो लाग्थ्यो, पछि बानी प¥यो। सिरक भित्र गुम्सिएर रातभर च्याटमा व्यस्त।

जति रात छिप्पिन्थ्यो, गफ पनि उति मिठो हुँदै जान्थ्यो। खै, उसको गफमा के मादकता थियो! जुन बिलाएको रात हुन्थ्यो तर त्यो रातमा मसँग सपना हुन्थेन। परेलीहरु पटक्कै झिमिक्क हुन मान्दैनथे।

कहिलेकाहीँ च्याट गर्दागर्दै हाँसो थाम्न नसक्दा खित्का छ्ट्थ्यो। मध्यरातमा हासेको थाहा पाए के भन्लान्! हाँसो रोक्न सिरकको फेरोलाई दाँतले बेस्कन टोक्थेँ। अरु सुतेका छैनन् भने खोकी लागेको बहाना गर्थें कि मुसा धपाएको बहाना गर्थें।

भाइले मोबाइल सँगै अतिरिक्त किनिदिएको ब्याट्रीलाई मास्टर चार्जमा फुल गरेर राख्ने र एउटा सकिनेबित्तिकै फेरिहाल्ने। जतिखेरै चलिरहने हुँदा मोबाइल तातेर हातै रनक्क हुन्थे।

म जागै भएको दिदिले कहिलेकाँही चाल पाउँथी। उसले गाली गरेपछि म निदाएको अभिनय गर्थेँ। कति दिन त रात छर्लङ्ग काटेर ननिदाइ क्याम्पस पनि गएँ। क्लासमा बस्दा निद्रा लागेर हैरान!

धेरैलाई माया भ्रम भन्ने लाग्न सक्छ। मलाई पनि त्यस्तै लाग्थ्यो। तर पनि मान्छे पटकपटक माया जालमा पर्छ। हुन पनि यो मायावी संसारबाट मुक्त हुन कहाँ सजिलो छ र!

यसरी च्याट हुँदाहुँदै, केही नमिठा अनुभव हुँदाहुँदै पनि मलाई ऊ बानी परेछ। एक चरणमा आएर लाग्यो, यो संवाद यहीँ रोकिन जरुरी छ। केही दिन ऊबाट टाढा हुने कोसिस गरेँ। फेसबुक चलाइन। फोन आउला भनेर फोन पनि अफ गरेँ। तर सकिन। समुद्रमा छालहरु किनारलाई पटक–पटक छोएर जान्छन्। त्यस्तै समुद्र जीवन, मन किनार अनि माया चैँ छाल। माया लिएर कोही मेरो मनलाई छुन आएको थियो। मैले आफैंसँग हारेँ र उसलाई स्विकारेँ। फेसबुकको पासवर्डमा पनि हामीले एक–अर्काकै नाम राख्यौँ। हामीले खडेरीसँग आँसु साट्यौँ, वर्खासाग प्यास, पतझडसँग फूल अनि वैशाखसँग जाडो।

घण्टौंसम्म म उसँग हराइरहेकी हुन्थेँ। मोबाइलका किप्याडमा मेरा औँलाहरु यति अभ्यस्त थिए, अक्षर हेर्नु आवश्यक थिएन। कल्पनाका सहरहरुमा हामी घण्टौँ हराएका हुन्थ्यौँ। मनका गल्लीगल्लीमा कतै ऊ मेरो पथप्रर्दशक हुन्थ्यो कतै म। हामी हाँस्थ्यौँ, जिस्किन्थ्यौँ, छिल्लिन्थ्यौं। घडीले बाह्र बजाएपछि पुनः च्याटमा आउने वाचाका साथ छुट्टिन्थ्यौँ। एक–अर्कालाई कृत्रिम चुम्बनहरुको वर्षा गराउँदै।

च्याट सकिएपछि पनि हामीबीच भएका संवादहरु दोहो¥याएर हेर्थें म। यसो गर्दा अपार आनन्द आउँथ्यो। कहिलेकाहीँ उसँग कुरा नहुँदा फेसबुकमा राखिएका तस्विरहरु हेरेर बस्थेँ। मोबाइलको स्क्रिनभित्र ऊ हुन्थ्यो। मेरा ओठले स्क्रिन चुम्थे। फोन छातिमा टाँस्थे, मानौ उ मेरो अँगालोमा हुन्थ्यो।

फेसबुकमा कुरा हुन थालेको सात महिनापछि राजधानीको एउटा क्याफेमा पहिलोपटक प्रत्यक्ष रुपमा हाम्रो भेट भएको थियो। डिजिटल समय बाँचेर आएका हामी यथार्थमै एक–अर्कालाई छोएर गफ गर्ने सक्ने भएका थियौँ। हामीले बुनेको प्रेम मफलर जस्तै सुन्दर थियो हाम्रो भेट। यहाँसम्म आइपुग्दा मैले फेसबुककी दिव्यालाई बदलेर आफ्नो वास्तविक नाम राखिसकेकी थिएँ।

हामीले प्रेम त ग¥यौं तर प्रेमलाई बन्धन बनाएनौं। त्यसैले पनि होला, धेरैले फेसबुकलाई विकृति फैलाउने माध्यम भन्दा हामी त्यो मान्न तयार छैनौं।

दुनियाँमा सबै अनुभवहरु लेखिँदैनन् र लेख्न जरुरी हुन्छ भन्ने कुरामा पनि विश्वास छैन। फेसबुकका च्याटहरुमा हामीले पनि यस्ता कैयौँ कुराहरु एकअर्कासँग साटेका थियौं, जो हृदयमा सदैव ताजा भएर रहिरहेका छन्। दुनियाँको हरेक प्रेमीहरुले जसरी आफ्नो प्रेमलाई सर्वाधिक चोखो प्रेमका रुपमा व्याख्या गर्न रुचाउँछन्, हामी पनि प्रेमको त्यही अनन्त गहिराइमा छौँ। शरिरसंग एकाकार हुनु मात्र प्रेम होइन।आत्मियताको चरम विन्दु नै वास्तविक प्रेम हो।

धन्यवाद, जुकरवर्ग!

भ्रम नै सही! मैले बाँचीरहेको समय हो, फेसबुक। जहाँ दुरदराजमा रहेका मेरा शुभचिन्तक, मेरा आफन्तजन, साथीभाई र जीवनका कैयौँ पाटाहरु अटाएका छन्। र, त्यहीँ अटाएको छ मेरो तन्नेरी प्रेम …। स्रोत – सेतो पाटी डट कम

प्रतिकृया दिनुहोस्

Loading...