प्रचण्डले सोलु पुगेर भने 'हामीले जनसरकार चलाई सक्यौ, कांग्रेस एमाले पनि अटाएका छन्'

  • सोलुखुम्बु । 
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनपछि बनेको जनसरकारमा कांग्रेस एमालेहरु पनि आएको बताएका छन् । 

ने.क.पा. (माओवादी केन्द्र) सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनलाई जनसरकारको निर्वाचन भएको बताएका छन् ।

जनताका प्रतिनिधिले सरकार चलाउनुपर्छ भन्दा कांग्रेस एमालेले मानेनन्

सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुले जनयुद्धको समयमा सञ्चालन गर्न खोजेको जनसरकार पनी अहिले स्थानीय तह सरकार जस्तै भएको बताएका छन् ।

उनले भने ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो ।' 

प्रचण्डले यो निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा नभएर जनताले जितेको बताएका छन् । 'गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् ।' उनले भने ।

आफ्नो सरकारले नमूनायोग्य काम गरेको दाबी

यस्तै प्रचण्डले चुनौतिपूर्ण समयमा बनेको आफ्न्नो नेतृत्वको सरकारले नमूनायोग्य काम गरेकोबताएका छन् । उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं ।'

आफु प्रधानमन्त्री नभएको भए देशमा यी ७ कुरा सम्भब थिएन 

प्रचण्डले आफु प्रधानमन्त्री भएका कारण देशमा ७ वटा महत्वपूर्ण कुराहरु भएको बताएका छन्। उनले आफु प्रधानमन्त्री भएका कारण देशको राष्ट्रिय एकता जोगिएको बताएका छन्। 

आफु प्रधानमन्त्री भएकै कारण नेपालमा फास्ट ट्रयाक बन्ने बाताबरण बनेको, भारत र चीनबीच सन्तुलित सम्बन्ध बनेको, १८ घण्टासम्मको लोडसेडिङ अन्त्यभएको, ०.८% मा रहेको आर्थिक बृद्धिदर ७.५%पुगेको, विकास आयोजनाहरुले तिब्रता पाएको, विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गरेको बताएका छन्। 

यस्तै प्रचण्डले आफिहरुले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएको बताएका छन् । आफु प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों नराखेको बताएका छन् । 

प्रदेश र संघमा माओवादी पहिलो पार्टी बन्छ 

प्रचण्डले अबको ध्यान पार्टी निर्माणमा दिने र प्रदेश तथा सङ्घको निर्वाचनसम्म माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेको बताएका छन्। उनले अरुले कुहेको पीठो बेचिरहेका र आफुले गुणस्तरीय चामल बेचिरहेको हुनाले जनताले माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने बताएका छन् । 

सम्पूर्ण देश, कांग्रेसका अधिकांश नेताहरु र प्रतिपक्षी दलले समेत राजीनामा नदिन आग्रह गरे पनि राजनीतिमा नैतिकता र ईमान हुन्छ भन्ने तथ्य स्थापित गर्न आफूले स्वेच्छाले राजीनामा दिएर मूल्य मान्यताको संस्कार बसालेको प्रचण्डले बताए । 

जनसभालाई माओवादी केन्द्र सोताङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सैमान राई, महाकुलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सागर किराँती लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कांग्रेस एमाले परित्याग गरी १ सय बढी माओवादीमा प्रवेश

यस्ती सोलुखुम्बुको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राई र एमालेबाट टेकबहादुर राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाबिस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...