डर, भय र त्रासकाबीच प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय निर्वाचन सुरु

  • काठमाडौँ । 

नेपाल कम्युनिष्ट पार्टीको विरोधका बीच दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, ५ र ७ मा सुरु भएको छ । यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । 

बुधबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् । 

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । 

निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।

स्थानीय चुनावको विपक्षमा उभिएको कम्युनिष्ट पार्टीले मतदान स्थलमा बम विष्फोट गर्नेदेखि उम्मेदवारलाई नियन्त्रणमा लिनेसम्मका चुनाव बिरोधि गतिविधि गरिरहेको छ । यसै क्रममा देशभरबाट नेकपाका सयौं नेता कार्यकर्ता गिरफ्तार समेत परेका छन् ।



,

प्रतिकृया दिनुहोस्

Loading...