मन्त्री बन्न नपाएपछि कांग्रेसको गुटभित्रै मारामार, देउवाको कोर टिम आउट, महेन्द्रलाई चिठ्ठा

  • काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्रिपरिषद संख्या बढाएसँगै उनकै पार्टी कांग्रेसभित्र आक्रोश र असन्तुष्टि चर्किएको छ । मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री देउवाको ‘कोर टिम’ कै सदस्य समेत नपरेपछि अहिले उनलाई मन्त्रीका आकांक्षीहरुको चित्त बुझाउन हम्मेहम्मे परेको छ ।
कोर टिम नै आउट ?

देउवाको कोर टिममा रहेकामध्ये डिना उपाध्याय, अर्जुन जोशी, भरत शाह, चीनकाजी श्रेष्ठ, रामहरी खतिवडा लगायका आधा दर्जन नेताहरु मन्त्रिमण्डलमा नपरेपछि देउवासँग चिढिएका मात्रै छैनन् गुट नै बदल्ने कि भन्ने सम्मको सोचमा पुगेका छन् । तर, ती नेताहरुले खुलेर असन्तुष्टि व्यक्त गर्न भने सकिरहेका छैनन् । ‘राजनीतिमा कहिलेकाही यस्तो हुनु स्वभाविक हो, यसलाई ठूलो इस्यु किन बनाउने ? 

समय सकिएको छैन, अवसर यो मात्रै होइन,’ देउवा प्रधानमन्त्री भएदेखि नै मन्त्री बन्ने चर्चामा रहेका अर्जुन जोशीले भने । नेता जोशीको नाम अन्तिम समयमा आएर झिकिएको थियो । यसअघि प्रधानमन्त्री देउवाले आफूसँगै सपथ खुवाउन ठिक्क पारेका जोशीलाई दोस्रो पटकमा पक्का मन्त्री बनाउने भनेर बचन नै दिएका थिए ।

कांग्रेस नेताहरुकै अनुसार महाधिवेशनमा तत्कालिन संस्थापन पक्षसँगको सम्बन्ध टुटाएर देउवा समुहमा आएका जोशीले देउवालाई सभापतिमा जिताउन निकै ठुलो भूमिका निभाएका थिए । हक्की र लडाकु स्वभावका जोशी आफुले देउवालाई त्यति धेरै सहयोग गरेपनि अन्तिममा धोका दिएपछि अव कसरी अघि बढ्ने भनेर आफ्ना निकटकाहरुसँग छलफल थालेका छन् । 

भन्छन् – ‘मन्त्रिमण्डल विस्तारपछि त देउवाजीले मलाई यसकारणले मन्त्री बनाउन सकिन भनेर भनेका समेत छैनन् । आवश्यक परे प्रयोग गर्ने नपरे फाल्ने साधन जस्तै भयौँ हामी त । तर मेरो यसमा केही कमेन्ट छैन ।’ कुनै प्रतिकृया दिन नमानेका जोशीले रातोपाटीसँगको टेलिफोन कुराकानीमा भने ‘तराईलाई बढि महत्व दिएको देखियो ।’


जोशीमात्र होइन, देउवाको कोर टिमकै अर्की सदस्य डिना उपाध्यायको पीडा पनि उस्तै छ । देशभरको कांग्रेसको जोडघटाउ र देउवालाई पुर्ण सहयोग गरेकी उपाध्यायलाई कांग्रेसभित्र मन्त्रीको स्वतः दाबेदारका रुपमा हेरिएको थियो । उनले पनि गत महाधिवेशनबाटै देउवाको काँध थापेकी थिइन् । महाधिबेसनमा महिला कोटा अरुलाई नै छाडेर खुल्ला केन्द्रीय सदस्य चुनाव लडेकी डिनाले पछिल्लो समय चुनावी जोडघटाउदेखि देउवालाई सुझावसमेत दिने गरेकी थिइन् । 

२०४३ सालमा पद्यमकन्या क्याम्पसको स्ववियु सभापति हुँदै काँग्रेसको सक्रिय राजनीतिमा होमिएकी उपाध्याय गिरिजाप्रसाद काेइरालासँग निकट रहेर पार्टी नफूट्दै गिरिजा निवासदेखि पार्टीसम्म सुशील हावी भएपछि क्याप परिवर्तन गरी देउवा गुटमा लागेकी थिइन् ।

डिना जस्तै रुपन्देहीका भरत शाह पनि देउवाको क्याविनेटमा नपरेपछि देउवासँग चिढिएका छन् । रुपन्देहीका साह मन्त्रिमण्डलमा नपरेपछि निराश भएको उनका सहयोगिहरुले बताएका छन् ।

खुलेनन् चीनकाजी

मन्त्रीका आकांक्षी मध्येका एक थिए, चिनकाजी श्रेष्ठ । गोरखाका श्रेष्ठ यसपटक कुनैपनि हालतमा मन्त्री बन्ने आशामा बसेका थिए । देउवाले उनलाई प्रधानमन्त्री भैसकेपछि तपाइको चाहना केहो ? भनेर सोधेकाले पनि उनी दोस्रो पटककको मन्त्रिमण्डल विस्तारमा आफु पर्नेमा विश्वस्त थिए । तर, उनको आशा अन्ततः निराशामा परिणत भयो । यद्यपि श्रेष्ठ अहिलेसम्म देउवा वा पौडेल समुहको भनेर खुलिसकेका छैनन् । उनलाई सुशील कोइरालाले सचेतक बनाएका थिए ।

निधि र रामवरण द्वन्द्वले महेन्द्रलाई चिठ्ठा 

धनुषामा दुईथरी कांग्रेस छन् । एउटा विमलेन्द्र निधि समूह र अर्को पूर्व राष्ट्रपति डा रामबरण यादव समूह । पूर्व राष्ट्रपति यादव राजनीतिमा सक्रिय नभएपनि उनले आफ्ना छोरा चन्द्रमोहन यादवलाई उत्तराधिकारी बनाउन खोजेका छन् । पहिल्यैदेखि निधि र यादवको लडाई भएपनि यसपटक यो लडाइको फाइदा महेन्द्र यादवले लिएका छन् । 

देउवाको क्याबिनेटमा अन्तिम समयमा परेका यादव निधीका ‘यस’ म्यान मानिन्छन् । पौडेल समुहले रामकृष्ण यादवलाई मन्त्री बनाउने भएपछि आफ्नो बर्चश्व देखाउन निधीले आफ्ना तर्फका महेन्द्रलाई मन्त्री बनाउन देउवालाई दबाब दिएकाले उनले अन्तिममा मन्त्री बन्ने मौका पाएका थिए ।

यसरी काटियो केसीको नाम

मन्त्रिमण्डल विस्तारका क्रममा नेता बलबहादुर केसीको नाम सुरुबाटै चर्चामा आयो । केसीको नाम देउवा समुहले भने चर्चामा ल्याएको थिएन । उनलाई रामचन्द्र पौडेलको समूहले मन्त्रीका लागि अघि सारेको थियो । पहिलो चरणमै मन्त्रीको सपथ खान लागेका केसी अन्ततः दोस्रो पटक पनि देउवाको क्याविनेटमा अटाएनन् । कारण थियो, देउवा–केसी व्यक्तिगत टकराव । 

पार्टी फुट्दा शुरुमा देउवा खेमामा लागेका केसी पछि क्याम्प चेन्ज गर्दै कोइराला समुहमा आएका थिए । त्यसपछि उनीहरुबीच कहिल्यै राम्रो सम्बन्ध भएन । तर, पौडेलका नजिक बनेका केसीलाई मन्त्री बनाउन जति नै प्रयास गरेपनि पौडेल यसमा सफल हुन सकेनन । ‘कुनै हालतमा केसीलाई मेरो क्याबिनेटमा राख्दिन । केसी पठाउने भए म आफ्नै ढंगले हिँड्छु ।’ देउवाको भनाइ उधृत गर्दै एक नेताले भने ‘यहि कारण केसी मन्त्री बन्नबाट रोकिएका हुन् ।

देउवाको अडानले यो पटक मन्त्री बन्न नपाएका केसीले कुनै प्रतिकृया दिन चाहेनन् । रातोपाटीले उनीसँग टेलिफोन सम्पर्क गर्दा भने – त्यहि मन्त्रीको त कुरा होला नि ? नो कमेन्ट म नागको दर्शन गर्दैछु पछि कुरा गरौँला ।’

त्यसको केहि घण्टामा फेरि रातोपाटीको सम्पर्कमा आएका केसीले आफूविरुद्ध भएको षड्यन्त्रको पर्दाफास गर्ने चेतावनी दिए ।

पौडेल समूहका अधिकांश केस असन्तुष्ट

देउवा समूहका मात्रै होइन, पौडेल समुहका पनि धेरै केन्द्रीय सदस्यहरु मन्त्रिमण्डलमा नपरेपछि आक्रोशित बनेका छन् । केन्द्रीय सदस्य आनन्द ढुङगाना, दिलबहादुर घर्ती लगायतका केन्द्रीय सदस्यहरु मन्त्रिमण्डलमा आफूलाई सहभागि नगराइएको भन्दै रुष्ट बनेका हुन् ।

उनीहरुले आफ्नो समूहबाट मन्त्रीमण्डलमा केन्द्रीय सदस्यको सहभागिता समेत कम भएको बताएका छन् ।

साउन ११ गते भएको मन्त्रिमण्डल विस्तारमा पौडल समुहबाट मन्त्री बनेका चारमध्ये एक जना केन्द्रीय सदस्य र तीनजना सांसदमात्रै हुन् । जसले गर्दा सरकारमा आफ्नो समुहको उपस्थिति प्रभावकारी नहुने असन्तुष्टहरुको भनाई छ ।

कांग्रेसभित्र देउवा, पौडेल खुमबहादुर खड्का र कृष्ण सिटौला गरी चार समूह रहेका छन् । ती समूहबीच भागबण्डाको आधारमा सरकारमा प्रतिनिधित्व हुँदै आएको उदाहरण छ । फणिन्द्र नेपालले रातोपाटिमा लेखेको यो समाचार हामीले इमान्दार मिडियाका लागि साभार गरेका हौं ।

,

प्रतिकृया दिनुहोस्

Loading...