राजपा चरम संकटमा, सहअध्यक्ष हृदयेश त्रिपाठी पार्टी छाड्दै ?

  • काठमाडौं ।

गठन भएको केहि महिना बित्न नपाउँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा ठूलो संकट देखिएको छ । सो पार्टीका एक प्रभावशाली नेताले नै पार्टी छाड्न लागेको पार्टी निकट स्रोतले दाबी गरेको छ । 

छ मधेशवादी दल मिलेर गठन भएको राजपाले वैधानिकता नपाउँदै प्रभावशाली नेता हृदयेश त्रिपाठीले पार्टी छाड्न लागेको कुरा सतहमा आएको हो । 

राजपा नेपालका सहअध्यक्ष समेत रहेका त्रिपाठीले पार्टी गठनदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए । पार्टी अध्यक्ष मण्डलमा रहेका नेताहरुमध्ये महन्थ ठाकुर मात्र आफूभन्दा सिनियर रहेको उनको बुझाई छ । तर धेरै नेता आफू भन्दा सिनियरमा दर्ज भएपछि उनले असन्तुष्टि जनाउँदै आएको नेताहरुको भनाई छ । 

बैशाख ७ गते भएको पार्टी घोषणा कार्यक्रममा अन्य सबै नेताहरु मञ्चमा बसेका थिए भने त्रिपाठीलाई पटक पटक बोलाउँदा पनि मञ्चमा गएनन् । त्यसपछि भएका अधिकांश कार्यक्रमहरुमा पनि अनुपस्थित रहँदै आए । 

राजपा नेपाल स्रोत भन्छ, ‘त्रिपाठीले पार्टी छाड्ने निर्णयमा पुगिसक्नु भएको छ, उहाँले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई जानकारी समेत गराईसक्नु भएको छ ।’

एक महिनादेखि नवलपरासीमा रहेका नेता त्रिपाठी आइतवारमात्रै काठमाडौमा आएका छन्, आउने वित्तिकै उनले अध्यक्ष ठाकुरलाई भेटेर पुनः आफ्ना असन्तुष्टिहरु जाहेर गरेका छन् । पार्टीभित्र आफूलाई व्यवस्थापन गर्न नसके पार्टी छाड्ने कुराको जानकारी त्रिपाठीले ठाकुरलाई गराएका हुन् ।

राजपा अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिह भण्डारी, अनिल झा, राजकिशोर यादव सबै त्रिपाठी भन्दा जुनियर रहेका छन्, तर उनीहरु सबै अहिले अध्यक्ष मण्डलका सदस्य रहेका छन् । अनिल झा त आफ्नो विद्यार्थी नै रहेको उनको तर्क छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...