पोखरा सस्तो बजारमा प्रसाशनको तालाबन्दीपछि ५ राजनीतिक दलले निकाले यस्तो कडा बिज्ञप्ति

  • ओम हमाल, पोखरा ।
पोखरामा कृयाशील ५ राजनीतिक पार्टीहरुले पृथ्वीचोकस्थित सस्तोबजारमा देखिएको समस्या समाधानका लागि पोखरा लेखनाथ महानगरपालिकाले मध्यस्थताको भूमिका खेल्नुपर्ने बताएका छन् । 

स्थानीय तहमा जनप्रतिनिधि चयन भईसकेको अवस्थामा आफ्ना महानगरवासीमा परेको अन्यायविरुद्ध न्याय दिलाउने क्षेत्राधिकार महानगरपालिकासँगै रहेको भन्दै उनीहरुले उक्त समस्या समाधानका लागि पोखरा लेखनाथ महानगरपालिकाको मध्यस्थता जरुरी रहेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी जगन, नयाँ शक्ति पार्टी कास्की संयोजक हेमबहादुर थापा “किरण” मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी कास्कीका सेक्रेटरी भीमबहादुर श्रीष, नेकपा माले कास्कीका सेक्रेटरी टेकनाथ भण्डारी र संघीय समाजवादी फोरम कास्कीका सहसचिव रामजी चर्माकारले सयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो धारणा सार्बजनिक गरेका छन् ।

पाँच राजनीतिक दलले जारी गरेको विज्ञप्तिमा गरिखान पाउनुपर्ने नेपाली नागरिकको अधिकार खोसिएको भन्दै मानवअधिकारको नांगो हस्तक्षेप भएको आरोप लगाइएको छ । 

नागरिकको जनधन, शान्ति सुरक्षा र व्यवस्थापनको जिम्मा लिनुपर्ने स्वयंराज्यले नै यसरी जबरजस्त बल प्रयोग गरेर गरिखान पाउने अधिकारलाई कुल्चिनु निन्दनीय कार्य भएको टिप्पणी गर्दै सस्तो बजारलाई विना विकल्प तालाबन्दी गर्दा सडक पेटीका व्यवसायीहरु सडकमा नै फर्किनुपर्ने अवस्था सृजना गरिएकाले यथाशीघ्र ताला खोलेर समस्याको समाधान बारे जिम्मेवारपूर्वक पहल गर्न आव्हान गरिएको छ ।

उनीहरुले विज्ञप्तिमार्फत् नै समस्या समाधानका लागि गम्भीर र जिम्मेवारपूर्वक सम्बन्धित निकायहरु लागिपर्नुपर्ने कुरामा जोड दिएका छन् ।

विज्ञप्तिमा पसलभित्रका करोडौं मूल्यका दैनिक उपभोग्य वस्तुहरु कुहिएको र ३७ करोडभन्दा बढीका सामानहरु बजारभित्रै बन्द अवस्थामा रहेको उल्लेख गर्दै ती सामानहरु हराउने वा चोरिने समस्यालाई कसले जिम्मा लिने भनी प्रश्न गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति


२०७४ असार १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...