नयाँ खुलासा: दाङका व्यापारी श्रेष्ठको अपहरणपछि हत्या काण्डका मुख्य नाइके नै बाबुछोरी

  • दाङ । 
तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्या बारे अर्को नयाँ तथ्य पत्ता लागेको छ । तुलसीपुरका व्यापारी श्रेष्ठको अपहरण र हत्यामा एकै घरका बाबुछोरीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

तुलसीपुरका टिकाराम घर्ती र उनकी छोरी पूजा श्रेष्ठ हत्याकाण्डका मुख्य योजनाकार रहेको प्रहरीको निष्कर्ष छ । प्रहरीले घटनाका मुख्य योजनाकार घर्ती, उनकी छोरी पुजा र सल्यान झिम्पेका मानवहादुर भण्डारीको तस्बीर सार्वजनिक गरेको छ ।

तीन करोड रुपैँया फिरौती माग्ने उद्देश्यका साथ टिकारामले आफ्नी १७ बर्षीया छोरीलाई प्रयोग गरेर श्रेष्ठको अपहरण गर्न सफल भएका थिए । अपहरणको दिन पनि पूजाले नै फोन गरी व्यवसायी श्रेष्ठलाई बोलाएकी थिइन् ।

श्रेष्ठको हत्या भइसकेपछि अपहरणकारीहरुले श्रेष्ठको घरमा फोन गरेर तीन करोड रुपैँया फिरौती मागेका थिए । तर, परिवारले यो कुरालाई गोप्य राख्दै आएको थियो । व्यापारी श्रेष्ठको जेठ २६ गते साँझ निकै नाटकीय रुपमा अपहरण भएको थियो । घटना हेर्दा निकै व्यवस्थित र योजनाबद्ध देखिएको छ । 

अपहरणमा परेको तीन सातापछि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित जंगलमा श्रेष्ठको शव भेटिएको थियो । हत्यामा संलग्न ७ मध्ये चार जना अहिले प्रहरी हिरासतमा छन् ।

हत्यामा संलग्न मुख्य योजनाकारसहित ३ जना फरार रहेकाले उनीहरुलाई पक्राउ गरेपछि थप खुलासा हुने प्रहरीको भनाइ छ । फरार रहेका उनीहरुको बारेमा सूचना दिनेलाई १ लाख रुपैँया पुरस्कार दिने प्रहरीले घोषणा गरेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...